detail-img

१४ बुँदे प्रस्ताव पारित गर्दै बाग्मतीको प्रदेश कमिटीको बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै बुधबार सकिएको हो ।
बैठकको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । बैठकमा महासचिव शंकर पोखरेलले बाग्मती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको बिषयमा प्रशिक्षण दिनुभएको थियो । बैठकले आफ्नो पहिलो प्रस्तावमै जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।
पारित प्रस्तावमा भनिएको छ– जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको जुन सङ्कल्प छ, त्यसलाई साकार पार्न बैठक जोडदार माग गर्दछ । 
यसैगरी बैठकले संस्थागत भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।
प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दिनुभएको जानकारीअनुसार बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरूको ज्यान समेत गइरहेकाले युद्धग्रस्त देशहरूमा नेपाली युवालाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि माग गरेको छ । 
यस्तै बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ ।
बैठकले महङ्गी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन बस्तुहरूको आयातमा रोक लगाउन सरकारसँग जोडदार माग गरेको छ ।