detail-img

महासचिव पोखरेलद्वारा लमजुङ जिल्ला कमिटीको नवौं अधिवेशन उद्घाटन

काठमाडौं । नेकपा (एमाले) लमजुङ जिल्ला कमिटीको नवौं अधिवेशन शुरु भएको छ । महासचिव शंकर पोखरेलले शुक्रबार बेसीशहरमा अधिवेशनको उद्घाटन गर्नुभएको छ । 
अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता समीकरण पार्टीले अगाडि सारेको मिसन–२०८४ को लक्ष्य हासिलका लागि आधार बनाउने गरी बनेको बताउनुभयो । 
उहाँले एमाले माथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको बताउनुभयो । एमालेको परिकल्पना समाजवादमा पुग्ने भए पनि अहिले नै समाजवादमा पुग्न नसकिने भएकाले  अहिलेको आवश्यकता समाजवादको आधार तयार गर्ने भएको महासचिव पोखरेलले बताउनुभयो । समाजवाद एमालेको लक्ष भए पनि अहिलेको कार्यभार राष्ट्रिय पुँजी विकास गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो । 
राजनीतिक स्थायित्व कायम नगरी देश बनाउन नसकिने वताउँदै महासचिव पोखरेलले देश बनाउने हो भने बलिया राजनीतिक दल बनाउन आवश्यक रहेको प्रष्ट पार्नुभयो । 
उहाँले नेकपा (एमाले)लाई राष्ट्रलाई नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल बनाउन आवश्यक रहेको बताउनुभयो । यसका लागि पार्टीपङ्ती खट्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
नेपालमा सामाजिक क्रान्ति हुनै नसकेकाले नेपाली समाज परिवर्तन हुननसकेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
देश विकासको लागि सबल नेतृत्व, बलियो राजनीतिक दल र स्थायित्व आवश्यक पर्ने र त्यो क्षमता नेकपा (एमाले)ले मात्र राख्ने बताउँदै त्यसका लागि सिङ्गो पार्टी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 
परिवर्तनका विचार लिएर जनताको घर घरमा जानुपर्नेमा पछिल्लो समय नेता कार्यकर्ता जनताको घरमा जान छाडेका भन्दै महासचिव पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । पार्टीभित्रका कमजोरी सुधार्नुपर्ने र जनतालाई मन नपर्ने कुरा छाड्नुपर्ने बताउँदै त्यसकै लागि एमालेले शुद्धीकरण र सुदृढीकरण अभियान चलाउन लागेको उहाँले जानकारी गराउनुभयो । 
उद्घाटन समारोहमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।