detail-img

इलामको विकासका लागि सुहाङलाई विजयी बनाउन आग्रह

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई अत्यधिक मतका साथ विजयी गराउन मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।
इलाम क्षेत्र नं. २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो । 
नेकपा (एमाले)का उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि यही बैशाख १५ गते इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ ।  
स्व. नेता नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ विजयी हुनुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले एमालेले पढेलेखेको, काम गर्न सक्ने योग्य उम्मेदवार उठाएकै कारण माओवादी केन्द्र, नेकपा माओवादी तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, एक पैसा भ्रष्टाचार नगर्ने नेता हामीले खडा गरेका छौँ । 
सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेको उहाँले बताउनुभयो । 
इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै अध्यक्ष ओलीले अब जितेर जाने उम्मेदवारले पनि देश र जनताका पक्षमा त्यतिकै योगदान गर्ने भनाइ राख्नुभयो  । 
नेकपा (एमाले)ले घरघरमा वृद्ध भत्ता पुर्याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो । 
एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– म प्रधानमन्त्री हुँदा २१० पालिकादेखि सदरमुकाम जोड्ने सडक र ३९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन्, अब अधुरा र अलपत्र कामहरूलाई पूरा गर्नुपर्छ ।
एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने उहाँले बताउनुभयो । एमाले सामाजिक सद्भाव कायम र सामाजिक समानताको अभियानमा लागेको प्रष्ट पार्दै सबै धर्म, भाषाभाषी, संस्कृतिको सम्वद्र्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुनेमा उहाँले जोड दिनुभयो ।
कर्यक्रममा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो । 
उहाँले एकल जातीय पहिचानको कुरा गरेर जातीय सद्भाव भड्काउने काम गर्नु नहुने बताउँदै देश सबै जात, जाति, भाषा भाषीको साझा थलो भएकाले एकल जातीय अधिकारको कुरा गर्नु गलत भएको बताउनुभयो । 
एकल जातीय पहिचानको कुरा गर्नेहरू सामाजिक सद्भाव र विकास विरोधी भएको उहाँले बताउनुभयो । 
सबैको अधिकार र पहिचान संरक्षण गरेर मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को को राष्ट्रिय आकांक्षा साकार बनाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । एमालेसधैँ साझा अधिकार र साझा पहिचानको पक्षमा रहेको उपाध्यक्ष थापाले बताउनुभयो । 
नेकपा माओवादी केन्द्रको कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरूका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो । 
उहाँले बामपन्थीहरूको एकताले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बन्न सक्ने बताउनुभयो । 
सो सभामा उम्मेदवार सुहाङ नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं.२ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । 
उहाँले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउँदै अहिले देश समृद्धिको बाटो हिँडेको हुँदा यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताउनुभयो । 
इलामको विकासमा आफ्ना बुवा सुभाषचन्द्र नेम्बाङ्गले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको सुहाङले सुनाउनुभयो । विगतका निर्वाचनमा  आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 
इलामको विकासमा  बुबाले देखेको सपना र बनाएको योजना पुरा गर्न कुनै पनि कमी कमजोरी नगर्ने सुहाङले बताउनुभयो ।