detail-img

वर्तमान सरकार विरूद्धका षडयन्त्र एक एक गरेर तोडिने छः उपाध्यक्ष पौडेल

२६ बैशाख (२०८१), रामेछाप । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज मन्थलीमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताउनुभयो । 
उहाँले भन्नुभयो– संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा (एमाले)सँग जोडिएको छ, एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ । 
नेपालको संविधान उत्कृष्ट रहेको तर संविधान उत्कृष्ट बनाएर मात्र नपुग्ने बताउँदै उपाध्यक्ष पौडेलले संविधानको रक्षा र उचित कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । 
संविधानले निर्देशन गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 
नेकपा (एमाले)लाई भित्तोमा पुर्याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको उपाध्यक्ष पौडेलले बताउनुभयो । 
वर्तमान सत्ता समीकरणबाट जनतामा आशा जगाउने काम भएको उहाँले बताउनुभयो । अहिले पनि  यो सरकार भत्काउनका लागि विभिन्न कोसिस भइरहेको बताउँदै उपाध्यक्ष पौडेलले सरकार विरुद्धका षडयन्त्रलाई एक एक गरेर तोडेर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।  
उहाँले भन्नुभयो– यो सरकार २०८४  सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन । 
उहाँले कांग्रेस र एमालेको एजेण्डा नमिल्ने भएकाले कांग्रेसँग सहकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो । उपाध्यक्ष पौडेलले भन्नुभयो– दुई प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस् । 
उद्घाटन समारोहमा नेकपा (एमाले) वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंंगेलले विकास र समृद्धिको योजन एमालेसँग मात्र रहेको बताउनुभयो ।  
उहाँले समृद्ध रामेछाप बनाउने योजना पनि नेकपा (एमाले)सँगै रहेको बताउनुभयो । उहाँले अधिवेशनबाट सहमतिका साथ नेतृत्व चुन्न पनि आग्रह गर्नुभयो ।