detail-img

सक्षम, इमान्दार र अनुशासित नेतृत्व छान्न महासचिव पोखरेलको आग्रह

२८ वैशाख (२०८१) तनहुँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी समाज परिवर्तन र देश निर्माणको सङ्कल्प बोकेर अगाडि बढेको बताउनुभएको छ। 
आज नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यो अभिभारा पुरा गर्न पार्टीका नेताकार्यकर्ता सक्रियताका साथ क्रियाशील हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिनु परेको चर्चा गर्दै अब जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्ने छ त्यसका लागि आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता हो । 
उहाँले सामजिक अराजकतालाई पराजित नगरेसम्म यो अभिभारा पूरा गर्न नसकिने स्पष्ट गर्दै पार्टीका नेता

कार्यकर्तामा पनि हिजा राजनीतिक परिवर्तनका लागि जुन सक्रियता र समर्पण थियो, त्यस्तै कार्यशैली आवश्यक रहेकोमा जोड दिनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– समाज बदल्नका लागि हामी पार्टीका नेताकार्यकर्तामा देखिएको  निष्क्रिय र शिथिल कार्यशैली बदल्नु आवश्यक छ । 
प्रतिनिधि सभा सदस्यका लागि तनहुँमा भएको उपनिर्वाचनमा पार्टीले अघिल्लो निर्वाचनमा पाएको दशहजार भोट हराएको र यसले हाम्रो यात्रामा चुनौती खडा गरिदिए पनि इलाम र बझाङमा भर्खर सम्पन्न  उपनिर्वाचनबाट पार्टीले धेरै कुरामा विजय हासिल गरेको विश्लेषण महासचिव सुनाउनुभयो । 
उहाँले तनहुँका नेताकार्यकर्तालाई इलामको निर्वाचनबाट शिक्षा लिन र तनहुँको उपनिर्वाचनमा आएको हुरी दिगो होइन रहेछ भन्ने बुझ्न आग्रह गर्नुुभयो । 
इलामको उपनिर्वाचनबाट पार्टीले सामाजिक अराजकता, पहिचानका नाममा जातीय अतिवाद स्वीकार्य छैन भन्ने सन्देश दिएको र  गणतन्त्रको औचित्य सकियो, विकल्प खोज्नुपर्छ भन्ने कुरालाई पराजित गरिदिएको महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले पपुलिजम्का आधारमा राजनीति गर्नेले देश र जनताका समस्या समाधान गर्दैनन् भन्ने इलामका जनताले बुझेर  जमानत जफत गरिदिएका हुँदा यो सन्देश जनतामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । 
महासचिव पोखरेलले पार्टी नेताकार्यकर्तामा कर्तव्यबाट विमुख हुने, सम्मान र अवसरको चाहना राख्ने प्रवृत्ति विकास भएको भन्नुहुँदै  समाज परिवर्तन मुख्य काम बाँकी रहेसम्म राजनीतिक परिवर्तनले खासै अर्थ नरहने हुँदा वैचारिक स्पष्टताका साथ विगतकै लयमा नेताकार्यकर्ता निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।  
पार्टीबाट औसरवादी र अराजकतावादी बाहिरिए पनि चुनौती भने अन्त्य नभएको बताउँदै उहाँले भन्नुभयो– यसबाट मुक्त हुन विचारधारात्मक काममा जोड दिनुपर्छ, अध्ययन गर्ने विश्लेषण गर्ने कुरामा जोड दिनुपर्छ । क्रान्तिकारीहरूले विचारको बहस गर्नुपर्छ, सिर्जनात्मकताको बहस गर्नुपर्छ । 
आगामी निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ मिसन–२०८४ अगाडि सारेको र त्यो सम्भव रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– बहुमत ल्याउन संविधानले रोकेको छैन । पार्टीको पक्षमा ४० प्रतिशत भोट पुर्याउँदा बहुमत आउँछ । त्यो लक्ष्य हासिल गर्नेगरी जनता जानुपर्यो । 
उहाँले पार्टी केन्द्रमा नीति र नेताका प्रश्नमा एकताबद्ध रहेको बताउँदै तल तलका औसरवादी, अराजकतावादी, स्वार्थी समूहले त्यो नीति र नेतृत्वको एकतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको र  त्यसप्रति होशियार हुन र खबरदारी गर्न कार्यकर्तालाई निर्देश गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– नीति र नेतृत्वमाथिको अनास्था र अविश्वासले पार्टीलाई कमजोर बनाउँछ भन्ने बुझ्नुपर्छ । औसरवाद र अराजकतावादले पार्टीलाई कमजोर बनाउँछ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ । 
उहाँले वर्तमान समीकरणलाई २०८४ सम्म लिएर जाने र त्यसका आधारमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न बताउनुभयो । 
महासचिव पोखरेलले पार्टीका पछिल्ला गतिविधि, समृद्धिका लागि सङ्कल्प यात्रा, नयाँ सत्ता समीकरण लगायतका कदमबाट निराश जनतामा आशा जगाउने काम भएको स्पष्ट गर्नुभयो । 
उहाँले अधिवेशनबाट तनहुँमा सही, सक्षम, इमान्दार र अनुशासित नेतृत्व छान्न र तनहुँको पार्टीलाई एकताबबद्ध बनाउने कुरामा सफलता मिलोस् भनी शुभकामना दिनुभयो ।  
उद्घाटन कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।