detail-img

राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउन एमाले बलियो शक्ति हुनुपर्नेः बरिष्ठ उपाध्यक्ष पोखरेल 

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राष्ट्रियता जोगाउन नेकपा (एमाले) बलियो हुनुपर्ने बताउनुभएको छ । 
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालमाथि बाह्य हस्तक्षेप बढेकाले त्यसलाई जोगाउन एमाले बलियो राष्ट्रिय शक्ति हुनुपर्ने बताउनुभयो । 
एमाले कमजोर भयो भने नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डता कमजोर हुने बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– त्यस्तो नहोस् भन्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमाले उभिनुपर्दछ, अनि मात्रै यो अवस्थालाई बदल्न सकिन्छ ।  
नेपालको अवस्था अहिले निक्कै कमजोर भएकाले विगतमा पुर्खाले लडेर देश बचाएको कुरा नबिर्सन आग्रह गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल दुई ठुलो शक्ति राष्ट्रहरूको बीचमा रहेको हाम्रो मुलुकमाथि हस्तक्षेप हुनसक्ने वा नेपालाई कुनै पनि बेला प्रयोगको थलो बनाउन प्रयास हुनेतर्फ सचेत गराउनुभयो । 
नेकपा (एमाले) सरकारमा जाँदा विगतमा नाकाबन्दी विरुद्ध डटेर लडेको स्मरण गराउँदै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा जारी भएको पनि उहाँले सम्झाउनुभयो ।  
एमालेलाई बलियो शक्ति बनाउन एमालेको संगठन पनि सुदृढ हुनुपर्ने बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस कार्यमा लाग्न युवालाई आह्वान गर्नुभयो  ।