detail-img

सम्मानले होइन, कर्तव्यले समाज बदलिन्छः महासचिव पोखरेल

३ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र बनाउनको लागि हरेक नागरिक र पार्टीका नेताकार्यकर्ताले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) भक्तपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई विहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले मैले के पाएँ, पार्टीले मलाई के दियो भन्ने भोक कार्यकर्तामा जाग्दा पार्टीको काम कमजोर हुने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– सम्मानले समाज बदलिँदैन, कर्तव्यले समाज बदलिन्छ, राष्ट्र बदल्ने हो भने सम्मानको खोजी होइन, कर्तव्य पुरा गर्नुपर्दछ, जो कर्तव्यको मार्गमा हिँड्दछ, त्यसले समाज बदल्न सक्छ । 
राजनीतिक परिवर्तन लक्ष नभएर माध्यम मात्र भएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तन हुँदैमा सबै कुरा भयो भन्ने सोच्नु गलत हुने बताउँदै महासचिव पोखरेलले राजनीतिक व्यवस्था परिवर्तन भएकाले अब समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड छ । 
उहाँले देश अरू कसैले नबनाइदिने बताउँदै आफ्नो देश आफैँ बनाउनुपर्ने प्रष्ट पार्नुभयो । अहिले देश बनाउने बेलामा देश छाड्नेको लर्को लागेको र  यस वर्ष सबैभन्दा धेरै युवा विदेश गएका बताउँदै उहाँले अरूको देशमा पसिना बगाएर आफ्नो देश कहीँ पनि नबनेको स्पष्ट पार्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– देश बनाउने हो भने देशभित्रै उद्यमशीलतामा युवालाई जोड्न सक्नु पर्दछ । 
समाज रूपान्तरणको काममा नेकपा (एमाले)का नेता कार्यकर्ता लाग्नुपर्ने उहाँले बताउनुभयो । आज समाज र राष्ट्रप्रति नै घेराबन्दी र आक्रमण भइरहेको उहाँको भनाइ छ । धर्म, संस्कृति, जात जातिको नाममा नेपाली समाजमाथि चौतर्फी आक्रमण भइरहेको हुँदा देशलाई जोगाउन र एमालेलाई एकल बहुमत प्राप्त राष्ट्रिय शक्ति बनाउन नेकपा (एमाले)ले मिसन– २०८४ भनेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
उहाँले जनतासँग नजोडिने पार्टीको भविष्य नहुने भन्दै पार्टीलाई जनतासँग जोडेर लैजानुपर्ने बताउनुभयो । 
नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानबाट पार्टीको काममा देखिएको समस्या पहिचान भएको र ती समस्यालाई सम्बोधन गर्ने गरी पार्टी कामलाई अघि बढाउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
उहाँले  पार्टी जीवनलाई व्यवस्थित गरी जनताको मुद्दा उठाउनुपर्नेमा जोड दिनुभयो ।  
उहाँले अधिवेशन सफलताको शुभकामना दिनुहुँदै पार्टी काममा जुट्न सक्नेलाई मात्र जिम्मेवारी लिन आग्रह गर्नुभयो । अधिवेशनमा जिम्मेवारी लिने तर जिम्मेवारी पुरा नगर्ने कामले पार्टी संगठन कमजोर हुने उहाँले बताउनुभयो । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टी स्थायी कमिटीका सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु बराल, बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा, पोलिटव्यूरो सदस्य महेश वस्नेत लगायत नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।