detail-img

मुलुकलाई सङ्कटमुक्त गर्न वर्तमान सत्ता समीकरण निर्माणः महासचिव पोखरेल 

६ जेठ (२०८१),दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो– एमाले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन । वर्तमान सत्ता समीकरणलार्ई २०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा हामी छौं । 
महासचिव पोखरेलले वर्तमान सत्ता समीकरणको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भरपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा काम गरूञ्जेल एमाले गठबन्धनकै पक्षमा रहने बताउँदै महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरूमा देखिएको उहाँले बताउनुभयो । 
विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटी भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताउनुभयो । 
‘एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता हो । बलियो कम्युनिष्ट शक्ति निर्माण हो’, महासचिव पोखरेलले भन्नुभयो– पार्टी एकता र २०८४ को निर्वाचनका लागि नयाँ सत्ता समीकरण निर्माण भएको नभई मुलुकलाई सङ्कटमुक्त बनाउनका लागि हो । कम्युनिष्ट शक्तिका बीचमा सहकार्यको थालनी गर्नु मात्रै हो ।
अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताका लामो सङ्घर्ष भएको बताउँदै महासचिव पोखरेलले संसदमा गृहमन्त्रीलाई बोल्नमा रोक लगाउनु कांग्रेसको पश्चगामी सोच भएको र यो प्रयत्न परिवर्तनका लागि सङ्घर्ष गरेको पार्टी नेपाली कांग्रेसका लागि शोभनीय होइन भन्नुभयो । 
उहाँले भन्नुभयो– गृहमन्त्रीले आफूमाथि लागेका आरोपबारे सदनमा बोल्न पाउनुपर्छ । अनि उहाँका नाममा मात्रै होइन, सिङ्गो सहकारी समस्याका बारेमा छानबिन गरिनुपर्छ । 
नेकपा (एमाले) दाङको १४औं जिल्ला अधिवेशनको उद्घाटनका लागि दाङ आइपुग्नुभएका महासचिव पोखरेलले प्रक्रियाबाटै सहमतिमा जिल्ला नेतृत्व चयन गरेर दाङका नेता कार्यकर्ताले मुलुकलाई सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
बामपन्थी र लोकतान्त्रिक आन्दोलनमा नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– दाङ नेत्रलाल अभागीको आधारभूमि हो । उहाँको स्मृति दिवसको अवसरमा जिल्ला अभिवेशन गर्न थालिएको हुँदा यहाँका नेता कार्यकर्ताले पक्कै पनि उहाँको योगदान बुझ्नुहुने छ भन्नेमा म विश्वस्त छु ।
जनतामा राजनीतिलाई आधारित गर्ने सन्दर्भमा अभागीको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले आधारभूत तहमा पश्चिम तराईको थारु समुदायमा राजनीति चेतना प्रदान गर्ने अभागीको भूमिकालाई वर्तमान पुस्ताले बुझ्नुपर्ने बताउनुभयो ।