detail-img

राष्ट्रिय महिला भेलाको नारा र छलफलको विषय तय

९ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा अर्को साता काठमाडौंमा आयोजना गर्न लागिएको राष्ट्रिय महिला भेलाको तयारी तीब्ररूपमा भइरहेको छ । 
राष्ट्रिय महिला भेला तयारीका सन्दर्भमा नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको विस्तारित बैठकले भेलाको मूल नारा तय गरेको छ । सो अनुसार ‘जेठ १६ को सङ्कल्पः उपलब्धि र चुनौती’ भेलाको मूल नारा हुने छ ।  
पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय  संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय महिला भेलामा हुने छलफलको विषय समेत निर्धारण गरेको छ । 
जेठ १६ र १७ गते हुने भेलामा ‘महिला आन्दोलनका उपलब्धि र अबको गन्तव्य’ विषयमा कार्यपत्र प्रस्तुतका साथै समूहगत रूपमा घनीभूत छलफल गरी आगामी दिनमा महिला आन्दोलनको गन्तव्यका बारेमा निष्कर्ष निकालिने छ । 
भेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा प्रज्ञा भवन कमलादीमा हुने छ । भेलामा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहनुहुने आयोजक जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताउनुभयो । भेलामा पार्टीका सबै (२३ वटै) जनसंगठनमा रहनुभएका महिला केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, ती जनसंगठनका केन्द्रीय विभागमा रहनुभएका महिला सदस्यहरू, आयोगमा रहनुभएका महिला सदस्यहरू, प्रदेशमा पदाधिकारीमा रहनुभएका महिलाहरू तथा महिला जिल्ला अध्यक्षहरू भेलामा सहभागी हुनुहुने छ । आजको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, सीता पौडेल, पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ, केन्द्रीय सदस्यहरू, जनसंगठनका इन्चार्ज, अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।