detail-img

नागरिकता छानविन गर्दा प्रेस स्वतन्त्रता हनन् हुँदैनः अध्यक्ष ओली

१० जेठ (२०८१), विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताउनुभएको छ ।
बिहीबार मोरङमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने बताउनुभयो । 
अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको जिज्ञासामा उक्त विषयलाई लिएर प्रोपोगाण्डा मच्चाउन आवश्यक नरहेको बताउनुभयो । सिरोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उहाँको भनाइ छ ।
फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने स्पष्ट पार्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो– कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन् भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा  !
यस अघि झापाको दमकमा नेकपा (एमाले) दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । 
उहाँले एमालेलाई आफ्नो लक्ष्यमा पुग्न आन्तरिक एकता आवश्यक रहेको स्पष्ट गर्नुभयो । 
एमालेको लक्ष्य मिसन–२०८४ भएकाले अहिले अन्त कतै  ध्यान नभएको अध्यक्ष ओलीले बताउनुभयो । मिसन–२०८४ भनेको तीनवटै तहमा एमालेको बहुमतको सरकार भएको उहाँले स्पष्ट पार्नुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेलाई स्वागत गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी, अग्रज नेता नरपति चापागाईं, चन्द्र तामाङ, श्रीमनारायण पौड्याल लगायत दुईसय जना एमाले प्रवेश गर्नुभएको छ ।