detail-img

कार्यकर्ता र जनताको मन जोड्ने पक्षमा एमालेः महासचिव पोखरेल

१२ जेठ (२०८१), पाल्पा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एमाले)लाई अहिले जनताले आशाको नजरले हेरिरहेका बताउनुभएको छ । 
नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीको दशौँ अधिवेशन शुक्रबार तानसेनमा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको ओरालो यात्रालाई रोक्ने प्रयत्नमा एमाले रहेकाले जनतामा आशा जागेको बताउनुभयो । 
मुलुकको नकारात्मक बाटोलाई एमालेले समीकरण बदलेर सही ठाउँमा ल्याउने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले यस्तो अवस्थामा पनि पुराना दलले केही गर्न सक्दैनन् भन्दै जनतामा निराशा फैलाउने काम भइरहेको बताउनुभयो । 
सामाजिक अराजकता अस्थिरता आज समाजमा चुनौतीका रूपमा प्रकट भइरहेको उहाँले बताउनुभयो । ‘अस्थिरता र समृद्धि साथसाथै अघि बढ्न सक्दैन, मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने हो भने अस्थिरतालाई पराजित गर्नै पर्दछ’, उहाँले भन्नुभयो । मुलुक अहिलेकै अवस्थाबाट राजनीतिक स्थायित्व र स्थिरताको बाटोमा अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । यसबाट मुलुकलाई निकास दिने क्षमता नेकपा (एमाले)सँग मात्र रहेकोे उहाँले प्रष्ट पार्नुभयो । समाजमा अस्थिरता र अराजकता मच्चाउनेका विरुद्ध एमाले एकजुट भएर उभिनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
ठूला पार्टीका नेता तथा कार्यकर्ता जनतामाझ नीति, कार्यक्रम, विचार र योजना लिएर नजाँदा अराजकतावादीले टाउको उठाउने प्रयास गरिरहेको र अराजकहरूको  भिडमा जनता जान लागेकाले प्रमुख राजनीतिक दलले त्यसलाई रोक्नुपर्ने धारणा उहाँले राख्नु भयो । 
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै देशको मौलिक तथा सांस्कृतिक आधारमाथि बाह्य पक्षबाट समेत निरन्तर प्रहार भइरहेको हुँदा राष्ट्रियता कमजोर पार्ने खेलबाट सचेत हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।  
महासचिव पोखरेलले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो । एमालेसँग बलियो संगठन, दूरदर्शी नेतृत्व र स्पष्ट दृष्टिकोण रहेको उहाँको भनाइ छ ।  
चौतर्फी घेराबन्दीको बेलामा समेत सबै चुनौतीको सामना गर्ने शक्तिको रूपमा नेकपा (एमाले) र अध्यक्ष केपी ओली स्थापित हुनुभएको महासचिव पोखरेलले बताउनुभयो । त्यसैले एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  
महासचिव पोखरेलले एमाले र माओवादीको सहकार्य निरन्तर रहने तर तत्काल पार्टी एकता भने सम्भव नभएको बताउनुभयो । एमालेले विगतको कमजोरीबाट पाठ सिकेको बताउँदै उहाँले एमाले हतार हतार पुनः पार्टी एकीकरण गर्ने पक्षमा नरहेको उहाँले स्पष्ट गर्नुभयो । हिजो नेताहरूको टाउको जोड्दा असफल भएको बताउँदै महासचिव पोखरेलले अब नेताहरूको टाउको होइन, कार्यकर्ता र जनताको मन जोड्ने काम गरिने स्पष्ट पार्नुभयो । 
अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजानु पर्छ भन्नेमा एमाले स्पष्ट रहेको हुँदा एमालले प्रधानमन्त्री वा कुनै मन्त्रालय नरोजेको उहाँले स्पष्ट पार्नुभयो । एमाले विरुद्धको घेराबन्दी भत्काउन एमाले सफल भएको भन्दै महासचिव पोखरेलले एमाले अहिलेको सत्ता समीकरणलाई जोगएर अघि बढाउने पक्षमा रहेको बताउनुभयो । ‘हामी नयाँ समीकरण मिसन २०८४ सम्म लिएर जान चाहन्छौं’, उहाँले भन्नुभयो । 
उद्घाटन समारोहमा पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्यहरू ठाकुर गैरे, बैजनाथ चौधरी, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।