detail-img

एमाले उज्यालो भविष्यको यात्रामाः महासचिव पोखरेल

१८ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले उज्यालो भविष्यको यात्रामा रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा राजधानीमा आयोजित राष्ट्रिय महिला भेलाको बिहीबार समापन कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा स्पष्ट गर्नुभएको हो । 
वर्तमान सरकारमा एमालेको उपस्थिति कमजोर रहेको टिप्पणीहरू हुने गरेको सन्दर्भमा महासचिव पोखरेलले एमालेले तत्कालका बारेमा मात्र नसोचेको र भविष्यमा बारेमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । 
नेकपा (एमाले) जनतामा सबैभन्दा लोकप्रिय पार्टी हुँदाहुँदै पनि घेराबन्दीमा परेको अवस्थालाई अन्त्यका लागि अहिलेको समीकरण बनाइएको र यसलाई २०८४ को निर्वाचनसम्म कायम राख्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– नेकपा (एमाले)लाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने र कसैको सहारा विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौं, हामी आजको सोचिरहेका छैनौं, भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौं ।
कार्यक्रममामा पार्टी स्थायी कमिटीका सदस्य तथा जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलाहरूसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशभरका अव्यवस्थित बाससोवासीका बस्तीहरुमा भैरहेको डोजर आतङ्क बन्द गर्नुपर्नेलगायतका विभिन्न प्रस्ताव पारित गरिएको थियो ।