detail-img

राष्ट्रिय राजनीतिलाई सही बाटोमा अगाडि बढाउने अभिभारा एमालेमाः महासचिव पोखरेल

१८ जेठ (२०८१), हेटौडा  । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने कुरामा हरेक नेता र कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) मकवानपुरको जिल्ला कमिटीको १२औं अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्दै महासचिव पोखरेलले यतिबेला राष्ट्रिय राजनीति अत्यन्त तरल छ, अस्थिर रहेको बताउनुभयो । 
समाजलाई सही बाटोमा हिँडाउने अभिभारा नेकपा (एमाले)को काँधमा रहेको औल्याउँदै महासचिव पोखरेलले पार्टीका नेताकार्यकर्ताको सामूहिक अठोटले मात्र समाजलाई सही बाटोमा लैजान सकिने बताउनुभयो । 
देशको विकास र समृद्धिका लागि सङ्कल्प गर्नुपर्ने र त्यो  सामर्थ्य एमालेसँग मात्र भएको उहाँले बताउनुभयो । समृद्धिको काम एमाले बाहेक अरू कसैले गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
अधिकार र कर्तव्यसँगै जोडिएको नागरिकले मात्र राष्ट्रलाई अघि बढाउन सक्ने र बलियो राज्यले मात्र यो काम गर्न सक्ने भनाइ महासचिव पोखरेलले राख्नुभयो । बलियो राज्य हुनको लागि बलियो राष्ट्रिय शक्ति बन्नुपर्ने उहाँको धारणा छ ।
नेकपा (एमाले) सत्तामा जाँदा विगतमा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र पूर्वाधार विकासमा धेरै महत्वपूर्ण र दीर्घकालीलन महत्वका काम गरेको स्मरण गराउँदै महासचिव पोखरेलले एमाले सत्तामा रहँदा सधै जनतामा आशा र भरोसा जगाउने काम गर्ने बताउनुभयो । 
उहाँले २०७९ को निर्वाचन परिणामको समीक्षा गरेर आगामी २०८४ को निर्वाचनका लागि जुट्नुपर्ने बताउँदै त्यसका लागि जिल्ला अधिवेशनले सक्षम नेतृत्व टिम निर्वाचित गर्न शुभकामना दिनुभयो । 
गत निर्वाचनमा मकवानपुरमा पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिँदा जुन विश्वास र भरोसा गरिएको थियो त्यसमा धोका भएको उहाँले बताउनुभयो । 
राष्ट्रिय राजनीतिलाई अघि बढाउन कहिलेकाहीं पार्टी नेतृत्वले फरक ढङ्गले पनि सोच्नुपर्ने बताउनुभयो । ‘हामीले कमल थापाजीलाई जुन विश्वासका साथ, भरोसाका साथ मकवानपुरमा उम्मेदवार बनायौँ त्यो गलत साबित भयो’, उहाँले भन्नुभयो ।
उहाँले पार्टी जीवनमा आत्मसमीक्षा गर्दै कमजोरीको आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
उद्घाटन कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु बरालले जिल्लाका सबै वडा, टोल बस्तीमा पार्टी विस्तार गरेर जनताको मन जित्नेगरी गतिविधि बढाउन आग्रह गर्नुभयो । उहाँले युवा नेतृत्व विकासको काम गर्न आग्रह गर्दै युवालाई संगठित गरी जिम्मेवारी दिन निर्देशन दिनुभयो ।
उहाँले विषयगत क्षेत्रलाई ध्यान दिँदै कृषिजन्य उत्पादनमूलक काम गर्दै आर्थिक सबलीकरण गर्नतर्फ ध्यान दिनुपर्नेसमेत बताउनुभयो ।