detail-img

अध्यक्ष ओलीद्वारा युवालाई निर्देशनः ‘समाजमा इमान र नैतिकता फैलाउनूस्’

१९ जेठ (२०८१),काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवालाई समाजमा इमान र नैतिकता अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । 
अध्यक्ष ओलीले राष्ट्रिय युवा संघ, नेपालको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै इमान र नैतिकता भएको समाजमा मात्र सुशासन हुने बताउनुभयो ।  
उहाँले भन्नुभयो– हामी सुशासन भएको समाज निर्माण गर्न चाहन्छौं, त्यसका लागि समाजमा इमान र नैतिकता फैलाउनूस् । 
‘बेइमान जिन्दगी पृथ्वीको भार हो’  चर्चा गर्दै अध्यक्ष ओलीले युवाहरूलाई इमानको कमाइमा लाग्न आग्रह गर्नुभयो ।
कुनै पनि काम गर्दा इमान तलमाथि भए भोक लाग्दैन, निद्रा लाग्दैन, छटपटी हुन्छ भन्नुहुँदै अध्यक्ष ओलीले युवाहरूलाई कुनै पनि काम गर्दा बुद्धिको मात्र भर नपरी बुद्धिले अह्राएको काम गर्नु अघि इमानलाई सम्झेर÷ सोधेर मात्र गर्न आग्रह गर्नुभयो । 
युवाहरूलाई कार्य क्षमता अभिबृद्धि गर्न सुझाउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘नलेज, म्यानर र क्यारेक्टर’मा ध्यान दिनूस् । 
अध्यक्ष ओलीले सम्बोधन क्रममा युवालाई परिपूर्ण लोकतन्त्र, सुशासन, समाजवाद, असंलग्न परराष्ट्र नीति, स्वतन्त्रता लगायत विषयमा प्रशिक्षित गर्नुभयो । 
उहाँले लोकतन्त्रलाई कतिपयले स्वतन्त्रताका रूपमा मात्र बुझ्ने गरेको र यस्तो बुझाईले लोकतन्त्रको अर्थ सीमित र आंशिक हुने स्पष्ट गर्दै आफूहरू परिपूर्ण लोकतन्त्रको अवस्थामा पुग्न चाहेको बताउनुभयो । 
संविधानमा उल्लेख गरिएका नागरिकका सबै मौलिक हक अधिकार प्राप्त नभई परिपूर्ण लोकतन्त्रको अवस्था मानिंदैन भन्नुहुँदै अध्यक्ष ओलीले ती अधिकारमा जनताको व्यावहारिक रूपमै पहुँच हुनुपर्ने बताउनुभयो । 
संविधानका मौलिक अधिकार व्यावहारिक रूपमा कार्यान्वयन, पार्टीले गन्तव्य बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पुरा गर्दा समाजवादमा पुगिने प्रष्ट पार्दै उहाँले भन्नुभयो– देशको युवा शक्ति नलागी  त्यो गन्तव्यमा पुग्न नसकिने हुँदा राष्ट्रिय युवा संघ नेपालले गर्ने कामको अत्यन्तै असाधारण महत्व रहन्छ । 
अध्यक्ष ओलीले विदेश सम्बन्धका बारेमा चर्चा गर्दै नेपालले अबलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीति ठीक रहेको हुँदा यो तटस्थताको नीति कायम  राख्नुपर्छ भन्नुभयो । 
उहाँले नेपालको स्वार्थ विश्व शान्ति, विश्व विकास भएको स्पष्ट गर्दै हामी कुनै पनि देशको सैनिक गठबन्धनमा सामेल हुँदैनौं, कुनै देशको पक्षमा धुरा पस्दैनौं, तटस्थ रहन्छौं, यस कुरामा हाम्रा युवा सचेत हुनुपर्छ भन्नुभयो । 
अध्यक्ष ओलीले युवाहरूलाई स्वतन्त्रता दिवसका विषयमा पनि स्पष्ट पार्नुभयो । विश्वका सधै स्वतन्त्र र स्वाधीन रहेका थोरै मुलुकमध्ये  नेपाल पनि एक भएको र सधै स्वतन्त्र भएका कारण हाम्रो स्वतन्त्रता दिवस नभएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो स्वतन्त्रता दिवस नहुनु गौरवको विषय हो । यो गौरवको झण्डालाई हामी झुुक्न दिँदैनौं, माथि उठाउन चाहन्छौं । यो आम नेपालीको साझा विषय बन्नुपर्छ ।