detail-img

विदेश दौडने युवाले देश बनाउँदैनन्ः महासचिव पोखरेल

१९ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवा संघ नेपाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर भएर योजना बनाउन निर्देशन दिनुभयो । उहाँले यस अघिको कार्ययोजनाको पनि समीक्षा गर्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले समृद्ध र स्वाधीन देश बनाउन युवाले देशमा नै अवसर खोज्नुपर्ने बताउनुभयो । देशमा भविष्य नदेख्ने र विदेश दौडने युवाले समृद्ध र स्वाधीन देश बनाउन नसक्ने उहाँको धारणा छ ।
महासचिव पोखरेलले मुलुकको नेतृत्व गर्ने नेकपा (एमाले) भएकाले एमाले र यसका जनसंगठनलाई व्यवस्थित ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । 
उहाँले एमालेको भविष्यबाट आतङ्कित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षडयन्त्रमा लागिरहेकाप्रति युवालाई सचेत गराउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– एमाले चौतर्फी घेराबन्दी र आक्रमणबाट गुज्रिरहेको छ, त्यस घेराबन्दीको डटेर सामना गर्न सक्नुपर्छ ।
उहाँले राष्ट्रिय राजनीति अहिले अति तरल र अस्थिर रहेकोप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन्’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले राजनीतिमा युवाको सहभागिता कमजोर रहेको हुँदा यस स्थितिलाई बदल्नुपर्नेमा जोड दिनुभयो । 
बहुसङ्ख्यक युवाको मत एमालेलाई पार्ने गरी स्थिति बदल्नुपर्ने हुँदा युवा लक्षित सही नीति र योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । महासचिव पोखरेलले युवालाई कसरी संगठन र पार्टीमा ल्याउन सकिन्छ भन्ने विषयमा सोच बिचार गरे काम गर्न राष्ट्रिय युवा संघ नेपाललाई आग्रह गर्नुभयो ।
राजनीतिप्रतिको समर्पणभाव र लगाव आज कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।