detail-img

सदस्यता नवीकरण तथा अनलाईन अभिलेखीकरण विषयमा अभिमुखीकरण 

२० जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश अन्तर्गतका चार जिल्ला कमिटीका लागि ‘सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण’ विषयक अन्तर्क्रियात्मक अभिमुखीकरण सम्पन्न भएको छ । 
नेकपा (एमाले) केन्द्रीय संगठन विभागको योजना र उपत्यका विशेष प्रदेश कमिटीको व्यवस्थापनमा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज उक्त अन्तक्र्रियात्मक अभिमुखीकरण सम्पन्न भएको हो । 
अभिमुखीकरणमा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र केन्द्रीय कमिटी सदस्य तथा संगठन विभागका सचिव माधव ढुङ्गेलले सहभागीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो । 
संगठन विभाग प्रमुख अधिकारीले पार्टी सदस्यता नवीकरण, स्तरोन्नतीकरण, सदस्यता विस्तार र सदस्यहरूको परिचालन विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यकर्ता आधारित पार्टीको सदस्यता नवीकरण विशेष महत्वको विषय भएको बताउनुभयो । उहाँले पार्टी सदस्यहरूको स्तरोन्नतीकरण, सदस्यता विस्तारसँगै सदस्यहरूको परिचालनका विषय पार्टीका कमिटी र व्यक्तिको समेत मूल्याङ्कनको विषय भएको प्रस्ट पार्नुभयो । 
स्थायी कमिटी सदस्य अधिकारीले पार्टीको हालै सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्ने दूरगामी महत्वको सङ्कल्प पारित गरेको स्मरण गराउँदै यो सङ्कल्प पुरा गर्न पार्टी सदस्यता शुद्धीकरण गर्दै पार्टीलाई सुदृढीकरण गर्ने काम शुरू भएको बताउनुभयो । 
उहाँले सदस्यता नवीकरण पार्टीको आधारभूत र एकदमै महत्वको काम भएको प्रस्ट पार्दै नवीकरण गर्दा सदस्यको योग्यता, चेतनास्तर, क्रियाशीलता लगायत ध्यान दिनुपर्ने विभिन्न विषयहरूका बारेमा पनि जानकारी गराउनुभयो । नेता अधिकारीले सदस्यता विस्तार गर्दा महिला, युवा, पछाडि परेको समुदायमा पुग्ने कुरालाई महत्व दिने गरी योजना बनाउन आग्रह गर्नुभयो । 
त्यसैगरी, अभिमुखीकरणमा संगठन विभागका सचिव माधव ढुङ्गेलले ‘कार्यालय सञ्चालन तथा अनलाईन व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुभयो । संगठन विभागको योजनामा शुरू गरिएको अभिमुखीकरणको यो आठौं श्रृङ्खला भएको र मधेस प्रदेशमा आयोजना गरिएपछि सबै प्रदेशमा सकिने जानकारी गराउनुभयो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको अभिमुखीकरणमा पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश इन्चार्ज सुजिता शाक्य, केन्द्रीय सदस्यहरू वालिका गिरी र गोविन्द दुलाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अभिमुखीकरणमा उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरू, सचिवालय सदस्यहरू, उपत्यका विशेष प्रदेश अन्तर्गतका पेशागत विशेष जिल्ला कमिटी, मजदूर विशेष जिल्ला कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारी र आईटी हेर्ने सदस्य सहभागी हुनुहुन्थ्यो ।