detail-img

एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट हुन्छः उपाध्यक्ष पौडेल

२३ जेठ (२०८१), भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १०औं अधिवेशन बुधबारदेखि शुरू भएको छ । अधिवेशनको नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभएको छ ।
अधिवेशनको उदघाटन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले एमालेले नेतृत्व गर्न पाए विकासको दृष्टिले एक दशकमै मुलुकको कायापलट गर्ने बताउनुभयो ।
एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र देशमा तमाम समस्या उत्पन्न भएको उपाध्यक्ष पौडेलले बताउनुभयो । नेपाली कांग्रेसले वर्तमान सत्ता समीकरण भत्काउने सपना देखिरहेको र त्यसका लागि अनेकौं षडयन्त्र भए पनि ती सफल हुँदैनन् भन्नुहुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो– वर्तमान सत्ता समीकरण २०८४ सम्म जान्छ, कांग्रेसलाई प्रतिपक्षमा बसेर चुनाव लडेको अनुभव गराउने हो ।

उहाँले विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरूरी रहेको बताउँदै  सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो– समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकाङ्क्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका सचिव छविलाल विश्वकर्माले कार्यकर्तालाई एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रूपमा लिन र नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गर्नुभयो । 
उहाँले स्वार्थभन्दा माथि उठेर पार्टी सङ्गठन निर्माण र मुलुक रूपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी भएको  बताउनुभयो । 
नेकपा (एमाले) रुपन्देहीले बिगतमा राष्ट्रलाई नै सन्देश दिने काम गरेको भन्दै उहाँले अब पनि नेतृत्व चयनका माध्यमबाट राष्ट्रव्यापी सही सन्देश दिने अपेक्षा व्यक्त गर्नुभयो । 
पार्टीका पोलिटब्युरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललगायतले पार्टी सङ्गठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताउनुभएको थियो । अधिवेशन उद्घाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।