detail-img

नेकपा (एमाले) सुनसरीका अध्यक्ष खनालको निधन

२४ जेठ (२०८१), इटहरी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका अध्यक्ष निलम खनालको ६१ वर्षको उमेरमा निधन भएको छ ।  
प्यान्क्रियाज (आन्द्रा)सम्बन्धी रोगको नियमित उपचार गराउन भारतको हैदरावाद जाने क्रममा तेलङ्गना राज्यको कागजनगर भन्ने ठाउँमा रेलयात्रामै आज बिहान २ बजे उहाँको निधन भएको हो । अध्यक्ष खनालको पार्थिव शरीर सुनसरी ल्याउने तयारी भइरहेको छ । उहाँका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।
उहाँ यही जेठ ९ गते सम्पन्न सुनसरी जिल्ला कमिटीको आठौं अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यस अघि खनाल सुनसरी जिल्ला कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो । 
नेकपा (एमाले) सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार अध्यक्ष खनाल २०३७ सालमा राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाँले २०३७ सालमा तत्कालीन मालेसँग जोडिएर काम गर्नुभएको थियो । 
खनाल २०५४ सालमा तत्कालीन भरौल गाविसको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा बराहक्षेत्र नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।