detail-img

जनताको जीवनमा परिवर्तन ल्याउने आर्थिक क्रियाकलाप बढाउनेतर्फ ध्यान जानुपर्छः अध्यक्ष ओली

२४ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको दैनन्दिन जीवनमा परिवर्तन ल्याउने आर्थिक क्रियाकलाप बढाउने कुरामा  ध्यान जानुपर्ने बताउनुभएको छ । 
पार्टीको केन्द्रीय स्कुल विभागको १८औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी स्कुलले कार्यकर्तामा प्रशिक्षण चलाउँदा यसतर्फ पनि ध्यान जानुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– स्कुल सञ्चालनका क्रममा एउटा अहिलेको राजनीतिक परिस्थिति र राजनीतिक आन्दोलन, अर्को जनताको जीवनमा परिवर्तन ल्याउने आर्थिक क्रियाकलाप, यी दुई कुराको ज्ञान हुनुपर्छ, यी दुई कुरामा ध्यान जानुपर्छ । 
उहाँले स्कुल सञ्चालन गर्दा उत्पादनका क्षेत्रमा केही नयाँ चिज शुरू गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । 
‘अब हामीले जोड दिने भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो गन्तव्यमा अगाडि बढ्ने कुरामा हो’ औल्याउँदै अध्यक्ष ओलीले त्यसका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ र पार्टी राज्य संयन्त्र सञ्चालनको अवस्थामा पुग्नुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले समाजवादमा पुग्नका लागि पार्टीले अहिले परिवर्तनकारी भन्दा पनि रूपान्तरणकारी र सङ्क्रमणकारी बाटो लिएको स्पष्ट गर्दै हामी हाम्रो गन्तव्यमा पुग्ने आधार तयार गर्न प्रशिक्षणमार्फत् मानिसको चेतनालाई ठीक ठाउँमा ल्याउने काम गर्नुपर्छ भन्नुभयो । 
आजको जमानामा जनता निरपेक्ष गरिबीको रेखामुनि रहनु अशोभनीय र मानवीय  सभ्यताका लागि कलङ्क हो भन्नुहुँदै उहाँले निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपालीलाई माथि उठाउनु पहिलो काम भएको र त्यसपछि सबै जनतालाई जैविक र मानवीय आवश्यकताको सहज परिपूर्तिको अवस्थामा पुग्नु नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवस्था हो भन्नुभयो । 
अध्यक्ष ओलीले एमालेले गन्तव्य वनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै समाजवाद हो भन्नुहुँदै अन्य धेरै दलहरूले आफूलाई श्रेष्ठ देखाउन र समाजवादलाई गोलमाल गर्न पार्टीको नाम समाजवादी राखेको बताउनुभयो । 
बैठकमा अध्यक्ष ओलीले पार्टी स्कुल विभागले तयार गरेको आधारभूत तहको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘समृद्धि सोपान’ को विमोचन पनि गर्नुभयो । 
बैठकमा पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले विभाग गठन भएयताका सबा दुई बर्षमा पार्टी स्कुल विभागले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
उपमहासचिव ज्ञवालीले यस अवधिमा सातै प्रदेशमा अगुवा कार्यकर्ता प्रशिक्षण, जनप्रतिनिधिहरूलाई अनुशिक्षण, प्रशिक्षक तयार गर्न राष्ट्रिय कार्यशाला, पार्टीमा नवप्रवेशीहरूका लागि प्रशिक्षण, १४ जनसंगठनका लागि प्रशिक्षक तयार गर्ने गरी प्रशिक्षण सम्पन्न गरिएको जानकारी गराउनुभयो । 
उहाँले प्रशिक्षणबाट क्षमता विकासमा उल्लेख्य योगदान पुगेको प्रशिक्षणमा सहभागीहरूको प्रतिक्रिया रहेको बताउनुभयो । 
उपमहासचिव ज्ञवालीले पार्टीको स्थानीय विकास विभागसँगको सहकार्यमा सातै प्रदेशमा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि कार्यशाला सम्पन्न गरिएको बताउनुभयो । 
स्कुल विभाग प्रमुख ज्ञवालीले सबै (करिव साढे पाँचलाख) सदस्यहरूलाई एकबर्षभित्र आधारभूत तहको प्रशिक्षण दिने र उक्त कामका लागि प्रदेशमा स्थायी रूपमा स्कुल स्थापना गर्ने गरी योजना बनाइएकोमा प्रदेशमा स्कुल स्थापना गर्न नसकिएका कारण उक्त योजना पुरा गर्ने कुरा चुनौतीपूर्ण बनिरहेको जानकारी गराउनुभएको थियो । 
स्कुल विभाग सचिव घनश्याम कोइरालाले सहजीकरण गर्नुभएको बैठकमा अध्यक्ष ओलीलाई पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिपद् बैठकमा विचार मन्थन कार्यशालामा सहजीकरण गर्नुभएका स्कुल विभागका विज्ञ सदस्यहरूले कार्यशालाको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । 
बैठकमा पार्टी स्कुलको आगामी कार्ययोजनाका बारेमा पनि छलफल भएको छ ।