detail-img

नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको नवौंं अधिवेशन शुरू

२७ जेठ (२०८१), अर्घाखाँची । नेकपा (एमाले)का सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले मुलुकको बिग्रँदो अवस्था सुधारका लागि नयाँ सत्ता समीकरण निर्माण गरी पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको शनिबार  सन्धिखर्कमा शुरू भएको नवौंं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सचिव अर्यालले देश विकासका लागि स्थीर सरकार आवश्यक भएकाले राजनीतिक दलहरूबीच ध्रूवीकरणको खाँचो रहेको बताउनु भयो । 
उहाँले राजनीतिक ध्रूवीकरण हुँदा स्वाभाविक रूपमा एकातिर  नेकपा (एमाले) र अर्कोतर्फ नेपाली कांग्रेसको नेतृत्वमा हुने बताउनुभयो । सचिव अर्यालले युवा पलायनले देश उजाड बनेकोप्रति चिन्ता व्यक्त गर्दै वैदेशिक रोजगारीका कारण  खाली हुँदै गएका गाउँ भरिपूर्ण बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य लीला गिरीले ग्रामीण क्षेत्रमा उत्पादन हुने बस्तुको बजारीकरण गरी आयआर्जनको मुख्य स्रोत बनाउनुपर्ने बताउनुभयो । 
पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरेले नेकपा (एमाले) अर्घाखाँचीको नेतृत्वले देशभर नै उत्कृष्ट कार्य गरेको र नवांै अधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटी पार्टीले अगाडि सारेको मिसन–२०८४ लाई अर्घाखाँचीमा साकार पार्ने योग्य, क्षमतावान् र क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले नेतृत्व चयन सर्वसम्मत गर्न पनि आग्रह गर्नुभयो । 
पार्टीका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई नमूना जिल्ला बनाउनको लागि वर्तमान नेतृत्वले रचनात्मक कार्य गरी गत निर्वाचनमा ‘क्लिन स्वीप’ गर्न सफल भएको स्मरण गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभयो ।  नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य बोमबहादुर विकले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । 
उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका जिल्ला कमिटीका अध्यक्ष पिताम्वर भुसालले आठांै अधिवेशनबाट निर्वाचित  कमिटीले दुई बर्षको अवधिमा स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न गरी अपेक्षाकृत परिणाम निकाल्न सफल भएको र त्यसकाममा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुभयो ।