detail-img

अर्घाखाँचीमा भुसाल दोस्रो कार्यकालका लागि सर्वसम्मत

२८ जेठ (२०८१), अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीको अध्यक्षमा पिताम्वर भुसाल दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको नवौं अधिवेशनले अध्यक्षमा भुसाल र सचिवमा तोजबहादुर रायमाझीलाई  निर्विरोध निर्वाचित गरेको हो । सचिव रायमाझीको पनि यो दोस्रो कार्यकाल हो । 
उपाध्यक्ष र दुई उपसचिवका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शम्भुप्रसाद पोखरेल र उपसचिवद्वयमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित हुनुभएको छ । 
जिल्ला कमिटीका सदस्यहरू भुगोलतर्फ सन्धिखर्क नगरपालिका बाहेक अन्य पालिकाबाट सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले ८७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष भुसालले पार्टीलाई थप एकताबद्व बनाई बलियो पार्टी बनाउने प्रतिवद्वता जाहेर गर्नुभयो । 
आज भएको शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जिल्लामा पार्टीलाई अझ बलियो बनाउन नयाँ कमिटीलाई आग्रह गर्नुभयो । जनताका समस्या एमालेको प्रमुख मुद्धा हुनुपर्ने बताउँदै पछाडि पारिएका बर्गको साथमा एमाले सधै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरेले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।