detail-img

अस्थिरता र अराजकताको जगमा राष्ट्र बन्न सक्दैनः महासचिव पोखरेल

३० जेठ (०८१), ललितपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिरता र अराजकताको जगमा राष्ट्र बन्न नसक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीको दोस्रो अधिवेशनमा महासचिव पोखरेलले देशमा कहिल्यै स्थिर सरकार नबन्नाले राष्ट्रको उन्नति र प्रगति रोकिएको बताउनुभयोे । 
देशमा प्रधानमन्त्री एक बर्ष पनि नटिक्ने, एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अवस्था भएपछि विकास योजना ठप्प हुनु अस्वाभाभिक नहुने उहाँको तर्क थियो । मतका हिसाबले सबैभन्दा ठूलो पार्टी बनेको एमालेले पनि कुल मतको स्थानीय तहमा ३३ प्रतिशत र आम निर्वाचनमा २७ प्रतिशत मत पाए पनि बहुमत प्राप्त गर्न नसकेको स्मरण गराउँदै महासचिव पोखरलेको कम्तीमा ४० प्रतिशत मत प्राप्त गर्न सकेमा मात्र स्थिरतामा सहयोग पुग्ने बताउनुभयो । 
छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सि चिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा बिडम्बना भएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– देशको राजधानी काठमाडौंमा जनताले भोट दिएर राम्रो मत ल्याएको पार्टीले पाँच बर्षमा जमानत जोगाउन नसक्ने स्थिति हुनुले जनता बढी जिम्मेवार हुनुपर्दछ । अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई स्थान दिएको छ । त्यसैले विचार र सिद्धान्त भएको पुरानै पार्टीमा नयाँ नेतृत्व खोजेर नयाँ बनाउन सकिन्छ । 
स्वतन्त्र नाम दिएर पार्टी खोेलेर जनता ढाट्नु अराजकताको अर्काे नमूना भएको उहाँको भनाइ छ ।  
अधिवेशनको उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा ललितपुर इञ्चार्ज शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, सङ्घीय सांसद तथा बाग्मती प्रदेश कमिटी उपसचिव प्रेम बहादुर महर्जन, नेकपा (एमाले) ललितपुर जिल्लाका अध्यक्ष पुरुषोत्तम आचार्य, महालक्ष्मी नगरप्रमुख हरिगोविन्द महर्जन, महालक्ष्मी नगरस्तरीय विभिन्न पार्टीका प्रतिनिधिहरू लगायतले सम्बोधन गर्नुभएको थियो । 
अधिवेशनको बन्द सत्रका लागि २०० सदस्य प्रतिनिधिको रूपमा चयन गरिएको छ । उक्त पालिका कमिटीको दोस्रो अधिवेशनबाट ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।