detail-img

पार्टीका हरेक गतिविधि जनतासँग जोडिनुपर्छः महासचिव पोखरेल

२ असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीको बीचमा रहेको र कामबाटै चुनौतीहरू पार गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीले आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । 
उहाँले पार्टी समक्ष रहेका चुनौती सामना गर्न पार्टी र पार्टीका विभिन्न विभाग, जनसङ्गठनहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 
महासचिव पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन नेताकार्यकर्ताहरू जनतासँग जोडिनुपर्ने र जिम्मेवारी प्राप्त गर्नेहरूले यस कुराको अनुभूति गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका हरेक गतिविधि जनतासँग जोडिनुपर्ने तथा राजनीतिक दलका नेताकार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जनतासँग जाने कुरालाई बाक्लो बनाउनुुपर्ने बताउँदै महासचिव पोखरेलले भन्ननुभयो– जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुन्छ तर हामी जनताको बीचमा जान छाडेका छौं, जसका कारण उनीहरूसँगको हाम्रो सम्बन्ध टुटेको छ ।
उहाँले राजनीतिमा युवाको आकर्षण गराउन आवश्यक रहेको बताउनुभयो । आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको बताउनु महासचिव पोखरेलले देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुुभयो– विदेशमा बसेर गाली गरेर देश बन्दैन । 
नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठुलो पैसा भारत लैजाने गरेका उहाँले सुनाउनुभयो । कतिपय नेपालका उद्योग व्यवसायमा भारतीय कामदारको एकाधिकार रहेको उहाँले प्रष्ट पार्नुभयो ।
नेपालमा केही समुदाय बाहेक व्यावसायिक काम गर्ने अवधारणा नै विकास नभएको महासचिव पोखरेलले बताउनुभयो । व्यवसाय नगर्ने, गरिहाले पनि उचित व्यवस्थापन नगर्दा घाटामा जाने र त्यसपछि राज्यलाई गाली गर्ने प्रवृत्ति नेपाली समाजमा रहेको उहाँको भनाइ छ । 
समाज बदल्नका लागि पाँचवटा आधार रहेका बताउँदै महासचिव पोखरेलले त्यो आधार राजनीतिक दलका कार्यकर्ताले नै दिनुपर्ने बताउनुभयो ।
नेपालको शिक्षा उत्पादनमा जोड दिने खालको नभएको, विश्वविद्यालयले जागिर खोज्ने शिक्षा मात्र दिएको बताउँदै महासचिव पोखरेलले त्यस कारण नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्तिले देश निर्माणका लागि काम गर्न नसकेको प्रष्ट पार्नुभयो ।
त्यस्तै कमजोर स्वास्थ्य अवस्था भएका नागरिक भएका मुलुकले देशको लागि काम गर्न नसक्ने उहाँले बताउनुभयो । उत्पादनमा विज्ञान प्रविधिले ल्याएका उपकरण प्रयोग गर्ने सामथ्र्य नेपाली समाजमा कमजोर रहेको हुँदा यसले पनि देश विकासले गति लिन नसकेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– देश निर्माणको लागि चाहिने प्रविधिमा हाम्रो रुचि कम छ ।
नेपाली समाजमा बचतको संस्कृति पनि निक्कै कमजोर रहेको उहाँले बताउनुभयो । ‘जुन समाजले बचत संस्कृति विकास गर्न सक्दैन, त्यहाँ पुँजी निर्माण हुन सक्दैन’, उहाँले भन्नुभयो ।
व्यावसायिकताको विकास जबसम्म राष्ट्रमा गर्न सकिँदैन तबसम्म देश विकास हुन नसक्ने हुँदा एमालेको ध्यान यिनै कुरामा जानुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
कर्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज गुरु बरालले राजनीतिक परिवर्तन भइसकेकाले अब विकास र समृद्धिको काममा अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको जग भनेको जनसङ्गठन र विभाग नै भएकाले  हरेक व्यक्तिलाई जिम्मेवारी दिइएको बताउनुभयो । अब आफ्नो काममा कसरी राम्रो परिणाम दिने हो भन्नेतर्फ जिम्मेवारी लिएका नेताहरू लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्ने गरी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले जिम्मेवारीबाट अलग भएपछि पदको महत्व बुझ्ने स्थिति आउन नहुने बताउनुभयो । 
पार्टीका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टीका नेता कार्यकर्तामा सिर्जनशीलताको आवश्यकता रहेको बताउनुभयो । पार्टीलाई वैचारिक र साङ्गठनिक ढङ्गले बलियो बनाउन विभिन्न विभागहरू बनाइएको प्रष्ट पार्दै उहाँले विभागको कामलाई सामान्य नठान्न आग्रह गर्नुभयो ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्र बाग्मती प्रदेश प्रमुख रचना खड्काले पार्टीका नेताहरूले पार्टीको काममा अतिथि ठान्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टी कामको ठुलो क्षेत्र महिलाको क्षेत्र भएको उहाँले बताउनुभयो । महिलालाई पार्टी काममा जोड्न सकिएन भने पार्टीले चुनाव नजित्ने उहाँको भनाइ छ । पार्टीका जनसङ्गठनलाई वडा तहसम्म र महिला, युवा र किसानका सङ्गठनलाई टोल तहसम्म लैजानुपर्ने भएकाले यस काममा जनसङ्गठनहरू जुट्नुपर्ने उहाँको धारणा छ । नयाँ जिम्मेवारी पाएका विभागीय पदाधिकारी र सदस्यहरूलाई नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले शपथ गराउनुभएको थियो ।