detail-img

अब समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्छः महासचिव पोखरेल

४ असार (२०८१), धादिङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको मुख्य काम जनताको जीवनमा परिवर्तन ल्याउने भएको बताउनुभएको छ । 
नेकपा (एमाले) धादिङद्वारा आयोजित तीनदिने प्रशिक्षणको पहिलो दिन सोमबार जिल्लास्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले समाज परिवर्तनको कार्यभार बाँकी रहेकाले कार्यकर्तामा निष्क्रियता होइन, समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्ने बताउनुभयो । 
समाज बदल्नका लागि उपकरण भनेको राज्यस्रोतको परिचालन भएकाले तीनै तहका सरकारमा नेतृत्व गर्ने गरी पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । 
विगतमा राजनीतिक परिवर्तनको आन्दोलनमा जेल, नेल, यातना सबैको सामना गर्न तयार भएका हामी पार्टीका नेताकार्यकर्ता राजनीतिक परिवर्तनपछिको कार्यभारका बारेमा अलमलमा परेका कारण पार्टी काममा सक्रियता कम भएको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।  
राज्यसत्ता परिवर्तनपछि जनताको जीवनमा परिवर्तन ल्याउने काम सिंहदरबार (तीनै तहका सरकार)को हो भन्ने बुझाईका कारण पनि सक्रियता कम भएको विश्लेषण सुनाउँदै महासचिव पोखरेलले त्यस दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– समाज बदल्ने क्रान्तिकारी कार्यभार हाम्रो काँधमा छ भन्ने बुझेको दिन हाम्रो सक्रियता अत्यधिक बढ्ने छ, अहिलेको तुलनामा दशगुनाले बढ्ने छ । 
विगतमा राज्यका विरूद्धमा लडेका जनता आज राज्यका पक्षधर भएको चर्चा गर्दै महासचिव पोखरेलले समाज विकासका लागि जनतामा हामी राज्यका पक्षधर हौं भन्ने भावनाको विकास गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– अब राज्य जति बलियो हुन्छ, जनता त्यति बलिया हुन्छन् । 
राज्य बलियो बनाउने तागत पार्टीहरूसँग हुने र बलियो पार्टीले मात्र राज्य बलियो बनाउन सक्ने यथार्थ प्रस्तुत गर्दै महासचिव पोखरेलले भन्नुभयो– त्यसका लागि एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु आवश्यक छ । 
उहाँले नेकपा (एमाले) अन्य पार्टीसँगको तुलनामा बलियो भए पनि राष्ट्रको आवश्यकताका हिसावले अझै कमजोर रहेको हुँदा निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भएकाले मिसन–२०८४ अगाडि सारिएको बताउनुभयो । 
पार्टीलाई आन्तरिक एकताका साथ सक्रिय बनाउँदा मिसन–२०८४ को लक्ष्यमा सफलता हासिल गर्न सकिने बताउँदै महासचिव पोखरेलले जिल्लाका नेताकार्यकर्तालाई तीनकुरामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । 
जिल्लाका नेताकार्यकर्ताहरूसँग पार्टीको अपेक्षा सुनाउँदै उहाँले भन्नुभयो– नियमित रूपमा कार्यकर्ता क्रियाशील हुनुपर्छ, कमिटीहरू चलायमान हुनुपर्छ । नेता र कार्यकर्ताबीचमा एकता कायम भएको हुनुपर्छ । यति काम हुनसके पार्टी काममा गुणात्मक वृद्धि हुने छ र हामीले सफलता हासिल गर्ने छौं । यही योजनाका साथ काम गर्यो भने मिसन–८४ मा सफलता हासिल गर्ने कुरामा कुनै सन्देह रहँदैन । 
महासचिव पोखरेलले समाज बदल्नका लागि नयाँ विचार लिएर जनतामा जानुपर्ने र त्यो भनेको पार्टीका विचारहरू विभिन्न माध्यमबाट जनतामा पुर्याउनु हो भन्नुहुँदै त्यसका लागि विचारधारात्मक काममा जोड दिनुपर्ने बताउनुभयो । 
उहाँले विचारधारात्मक काम भएन र मानिस क्रान्तिकारी विचारबाट टाढा हुन थाल्यो भने उसमा औसरवाद मौलाउने हुँदा प्रशिक्षणको कामलाई सबै सदस्यसम्म पुर्याउनुपर्ने भनाइ राख्नुभयो ।  
महाससचिव पोखरेलले राजनीतिक परिवर्तनपछि पार्टीमा सम्मान र अवसर खोज्ने प्रवृत्ति देखापरेको बताउँदै वास्तवमा यो समय सम्मान र अवसर खोज्ने नभई समाज बदल्ने काममा लाग्ने समय हो भन्नुभयो । 
जनताको शत्रुका रूपमा रहेको राज्यसत्ता पराजित भएको अहिलेको समयमा पनि हामी जनताबाट पराजित हुनु भनेको समाजवादतर्फको यात्रा रोकिनु हो भन्नुहुँदै उहाँले समाजलाई समाजवादतर्फ अगाडि बढाउने हो भने बुर्जुवाहरूलाई आवधिक निर्वाचनमा पराजित गर्नैपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– विगत छ दशकसम्म जनतालाई राज्यका विरुद्ध उभिन सिकायौं । व्यवस्था परिवर्तन गरी संविधान निर्माण गरिसकेपछि जनतालाई राज्यका पक्षमा उभ्याउनुपर्ने, त्यो काम हामीले गर्न नसक्दा जसले सरकारको चर्को विरोध गर्छ, उसैका पछाडि मान्छे उभिने स्थिति भएको छ । यो विकास र समृद्धिका लागि बाधक हो ।  
दुनियाँका सबै क्रान्तिले नेतृत्वको प्रश्न क्रान्तिबाटै टुङ्ग्याइदिएको तर नेपालको राजनीतिक क्रान्तिले नेतृत्वको प्रश्न नटुङ्ग्याएका कारण यो प्रश्न आवधिक निर्वाचनले मात्र टुङ्ग्याउने चर्चा गर्दै महासचिव पोखरेलले नेपाली क्रान्तिको पूर्णताका लागि आवधिक निर्वाचन सर्वाधिक महत्वको विषय हो भन्ने कुरालाई बुझेर नेतृत्वको प्रश्न निरुपण गर्नेगरी हामीले आफूलाई परिचालित गर्नुपर्छ भन्नुभयो । 
समाजलाई कता लैजाने भन्ने कुराको निरुपण आवधिक निर्वाचनले गर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– बुर्जुवाहरूले निर्वाचन जित्दा समाजलाई समाजवादतर्फ लगिदिन्छन् भन्ने आश गर्न सकिन्छ ? समाजवादतर्फ अगाडि बढाउने हो भने बुर्जुवा वर्गलाई पराजित गर्नैपर्छ । 
महासचिव पोखरेलले पञ्चायतकालमा समेत जिल्ला सभापतिमा जनपक्षीय उम्मेदवारलाई विजयी बनाएर नमूना प्रस्तुत गरेको धादिङ जिल्लाले आगामी निर्वाचनमा सबै तहमा विजय हासिल गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यसो भयो भने सङ्घीय सरकार निर्माणमा पनि सहयोग पुग्ने भनाइ उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले एकसिट कम जित्दा कोशी र गण्डकी प्रदेशमा सरकार निर्माणमा पार्टीले भोग्नुपरेको समस्या स्मरण गराउँदै निर्वाचनमा उम्मेदवार को भन्ने कुरालाई हेरेर होइन, पार्टीले जित्ने कुरा महत्वपूर्ण हो भन्ने नेताकार्यकर्ताको दिमागमा प्रष्ट हुँदा सफलता प्राप्त हुन्छ भन्नुभयो ।  
उहाँले नेकपा (एमाले)का नेताकार्यकर्ताको जनतासँगको सम्बन्ध टुट्दै गएको बताउँदै एमाले जनतासँग निरन्तर सम्बन्ध राख्ने कार्यकर्ता आधारित पार्टी हो भन्ने कुरालाई नविर्सन र जनताले मन पराउने आनिवानी, व्यवहार, जीवनशैली अपनाउन सुझाउनुभयो ।  
पार्टीका नेताकार्यकर्ता सुकिला मुकिला हुन थालेपछि र जनताका समस्यासँग जोडिन छाडेपछि जनताले स्वतन्त्रका नाममा पपुलिष्ट खोज्न थालेको र पपुलिजम्लाई आदर्श मान्न थालेको तर दुनियाँमा कहिँ पनि पपुलिजम्का माध्यमबाट समाजका समस्या समाधान भएका उदाहरण नभएको  चर्चा गर्दै महासचिव पोखरेलले विचार र दृष्टिकोण स्पष्ट भएका पार्टीले मात्र विद्यमान समस्या समाधान गर्दै समाज अगाडि बढाउन सक्ने भएकाले स्पष्ट कार्ययोजनाका साथ व्यवस्थित रूपमा काममा लाग्न निर्देशन दिनुभयो । पहिलो दिनको प्रशिक्षणमा पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले समाजवाद र समृद्ध नेपाल निर्माणका आधारहरू विषयमा प्रशिक्षण दिनुभएको थियो ।