detail-img

अनेरास्ववियु देशव्यापी प्रचार यात्रामा

६ असार, (२०८१), झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशव्यापी प्रचार यात्रामा निस्किएको छ ।
प्रचार यात्रा अभियान कोशी प्रदेशबाट शुरू भएको छ । यसक्रममा बुधबार अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा दुई दिने प्रचार भेला आयोजना गरिएको छ । 
भेलाको उद्घाटनपछि सम्बोधन गर्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमख भानुभक्त ढकालले पार्टीले अगाडि सारेको मिसन–२०८४ देशको भविष्यसँग गाँसिएको विषय भएको बताउनुभयो ।
स्थायी कमिटी सदस्य ढकालले २०८४ मा हुने निर्वाचन एमालेले विजय प्राप्त गर्ने÷नगर्ने विषयमात्र नभएको स्पष्ट गर्नुभयो । 
देशको विकास र समृद्धि अबको कार्यभार भएकाले फेरि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर देशको विकासमा कायापलट ल्याउनुपर्छ भन्ने ढङ्गले सिङ्गो पार्टीपङ्ती लागिरहेको उहाँले बताउनुभयो । 
अहिले नेपालमा जतिवटा पार्टी भए पनि क्रमशः देशको राजनीति दुई ध्रूबमा विभाजित हुने बताउँदै नेता ढकालले कम्युनिष्ट शक्तिको नेतृत्व अब एमालेले गर्ने र अर्को ध्रूबको नेतृत्व नेपाली कांग्रेसले गर्ने स्पष्ट पार्नुभयो । 
उहाँले नेपाली युवा सबै विदेश गइसके, देशमा युवा बाँकी नै छैनन् भन्ने गलत प्रचार भइरहेको हुँदा त्यस्ता गलत प्रचारप्रति सचेत हुनुपर्ने बताउनुभयो । 
उहाँले देशमा युवाहरू रहेका र राजनीतिमा सक्रिय रहेको भन्दै  राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गर्ने कार्यक्रम हेर्दा उत्साही युवाहरू देख्न पाइने बताउनुभयो । 
बदलिँदो परिस्थितिमा विद्यार्थीहरू बन्द हडतालमा होइन, सिर्जनात्मक काममा लाग्नुपर्छ भन्ने सन्देश अनेरास्ववियुले दिएको उहाँले बताउनुभयो । एमाले र एमालेका जनसंगठन मुलुक निर्माणको काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवालाई पार्टीमा जोड्ने कामलाई अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राजनीति समाजसेवाको जटिल काम भएकाले सबै मानिसले राजनीति गर्न नसक्ने चर्चा गर्दै आज राजनीतिका बारेमा गरिएको गलत प्रचारले योग्य र सक्षम मानिसहरू राजनीतिमा नआउने खतरा रहेको नेता ढकालले बताउनुभयो । यस्तो परिस्थितिमा असक्षम मानिसहरू राजनीतिमा आए भने देशको भविष्य बरबाद हुने उहाँको भनाइ छ ।
भेलामा पार्टीका पोलिटब्युरो सदस्य विशाल भट्टराईले एमालेका विरुद्ध आज पनि अनेक खालका दुष्प्रचार भइरहेको भन्दै पार्टी विरुद्धका सबै गलत प्रचारलाई एमालेपङ्ती र त्यसका जनसङ्गठनले तोड्नुपर्ने बताउनुभयो । 
अहिले सबै ठूला पार्टीहरू उस्तै हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिनु एमालेप्रतिको अन्याय भएको बताउँदै उहाँले विरोध र आलोचनाबाट डराउन नहुने बताउनुभयो । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समयमा भएका विकासका काम र राष्ट्रिय हितका विषयमा लिएको अडान स्मरण गर्दै उहाँले अध्यक्ष ओलीको नेतृत्वमा बहुमतसहित एमालेलाई सत्तामा नपु‍र्याएसम्म देश नबन्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, अनेरास्ववियुका अध्यक्ष समीक बडाल, केन्द्रीय सदस्य दीपक कार्की, झापा जिल्ला  अध्यक्ष प्रेम गिरी लगायतले प्रचार कामको महत्वका बारेमा बोल्नुभएको थियो । 
कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्लीसहित अन्य सचिव, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, आयोग सदस्य, विभाग सचिवहरूको पनि उपस्थिति रहेको थियो । 
भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठवटै प्रदेशमा भेला आयोजना गरिने र विद्यार्थीहरूलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइने छ । भेलामा सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियु कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो ।