detail-img

लेखा आयोगद्वारा सम्पादित कामबारे अन्तर्क्रिया

६ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएयता करिव अढाईबर्षको अवधिमा सम्पादन गरेका कामका बारेमा पार्टी नेतृत्वपङ्तीलाई जानकारी गराएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवहरू, स्थायी कमिटीका सदस्य लगायत नेताहरूको उपस्थितिमा बुधबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोगद्वारा अन्तर्क्रियात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त जानकारी गराइएको हो । 
छलफलमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले आयोगले हालसम्म सम्पादन गरेका काम, उपलब्धि र कार्य सम्पादनका क्रममा देखिएका समस्याकाबारेमा प्रस्तुति राख्नुभएको थियो । 
सो अवसरमा अध्यक्ष ओलीले मार्गदर्शन मन्तव्य व्यक्त गर्नुुहुँदै यस कार्यक्रमले पार्टीको आर्थिक क्रियाकलाप र सुधारका पक्षहरू सम्बन्धमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउन सफल भएको बताउनुभयो । 
अध्यक्ष ओलीले कार्यपत्रमा उल्लेख भएका विषयहरूलाई सिद्धान्तका रूपमा मात्र नबुझी व्यवहारमा उतार्न प्रयास गर्नुपर्ने, पार्टीको बाँकी बक्यौता रहेका व्यक्तिहरूलाई जिम्मेवारी र संसदीय निर्वाचनमा पार्टीको टिकट नदिनेसम्मको व्यवस्थाका साथै कमिटीलाई तोकिएको दायित्व पूरा नगर्दा त्यस्तो कमिटीलाई प्रतिनिधित्वबाट बन्देजको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, रघुवीर महासेठ, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय निकायका अध्यक्षहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरू, वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । 
आयोगका अध्यक्ष डा.कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएपछि केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य तथा पार्टीको संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु बराल, संगठन विभाग सचिव माधव ढुङ्गेलले टिप्पणी गर्नुका साथै महत्वपूर्ण सुझाव राख्नुभएको थियो । 
अन्त्यमा, कार्यक्रममा उठेका विभिन्न जिज्ञासाका बारेमा आयोगका अध्यक्ष डा. कँडेलले प्रष्टोक्ति मन्तव्य राख्नुभएको थियो । उहाँले नेताहरूबाट प्राप्त महत्वपूर्ण सुझावहरूलाई समावेश गरी कार्यपत्र परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यपत्रका रूपमा तयार हुने दस्तावेजलाई सर्कुलरका रूपमा तलका कमिटीहरूमा पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।