detail-img

अध्यक्षद्वारा पर्वतारोहीहरूको सम्मान

६ असार (०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । 
अध्यक्ष ओलीले आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठ लगायत पर्वतारोहीहरूलाई खादा लगाई सम्मान गर्नुभयो । 
सो अवसरमा पर्वतारोहीहरूले प्राप्त गरेको सफलताका लागि बधाई दिनुहुँदै अध्यक्ष ओलीले पर्वतारोहण जोखिमपूर्ण र गाह्रो काम भएकाले अफ्ठ्यारो परिस्थिति र प्रतिकूल मौसममा यस काममा जिद्दी गर्न नहुने बताउनुभयो ।  उहाँले पर्वतारोहीहरूलाई अनुकूल मौसममा पुनः आरोहण गर्न सकिने कुरालाई ध्यानमा राख्न आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल,  नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य सीता लामा लगायत उपस्थित हुनुहुन्थ्यो ।