detail-img

चीनको अवलोकन भ्रमणमा गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

७ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव तथा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य नेतृत्वको बहुदलीय प्रतिनिधिमण्डल चीनको दश दिवसीय अवलोकन भ्रमण पूरा गरी आज नेपाल फर्केको छ ।
दुई देशबीचको मित्रता र अन्तरपार्टी सम्बन्ध अभिवृद्धि गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागले नेपालबाट बहुदलीय प्रतिनिधिमण्डललाई यही जुन ११ देखि २१ सम्म चीन भ्रमण गराएको हो । 
भ्रमण टोलीले चीनको युनान र शानडोङ प्रान्तको इतिहास र वर्तमान, विकास/समृद्धि, संस्कार/संस्कृतिको अवलोकन भ्रमण गरेको छ । भ्रमण क्रममा गहिरो जनसम्बन्ध एवं सशक्त पार्टी सङ्गठन निर्माण एवं चिनियाँ कम्युनिस्ट पार्टी प्रणाली र अत्यन्तै व्यवस्थित पार्टी स्कुलको सञ्चालन र प्रभावबारेमा  त्यहाँका नेताहरूसँग अनुभव आदानप्रदान भएको टोली नेता डाक्टर शाक्यले बताउनुभयो । 
प्रतिनिधिमण्डलमा नेकपा (एमाले)का साथै नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा एकीकृत  समाजवादी, नेकपा माले र नेकपा बिप्लव गरी छ वटा पार्टीबाट २९ जनाको सहभागिता रहेको थियो । 
नेकपा (एमाले)बाट निर्वाचन विभागका सचिव केदार कोइराला, अर्थ तथा योजना विभाग सचिव क्रान्ति बुर्लाकोटि, भूपू सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य एवं मधेस पार्टी स्कुल प्रमुख शंकर महतो सहभागी हुनुहुन्थ्यो । 
भ्रमणमा रहँदा त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा ठुलाठुला आधुनिक कृषि फार्म, विभिन्न उद्योगहरू, विशाल पर्यटन क्षेत्रहरू र जनताको जीवनसँग कसरी गहिरो ढङ्गले जोडिएर अल्पसङ्ख्यक र गरिबको जीवन परिवर्तन गर्दै  राष्ट्रले नै गरिबी निवारण गर्न सकिँदो रहेछ भन्ने महत्वपूर्ण ज्ञान हासिल गरेको टोलीमा सहभागी पार्टी स्कुल विभाग सदस्य शंकर महतोले वताउनुभयो ।