detail-img

प्रवासी नेपालीलाई देशभक्तिपूर्ण भावनाबाट निर्देशित भइरहन आग्रह  

९ असार (२०८१), काठमाडौं । प्रवासी नेपाली संघ, भारत केन्द्रीय कमिटीको चौथो बैठक आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । 
बैठकको आरम्भमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालीहरू स्वदेश वा प्रवास जहाँ रहे पनि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता र देशको भौगोलिक अखण्डताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो । उहाँले रोजगारी लगायत विभिन्न कारणले प्रवासमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई देशभक्तिपूर्ण भावनाबाट निर्देशित भइरहन आग्रह गर्नुभयो । 
मूलतः भारत प्रवासमा नेपाली समुदायमा आधारित यस संगठनले सोही समुदायका मुद्दाहरूमा केन्द्रित रहेर आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा बरिष्ठ उपाध्यक्ष पोखरेलले जोड दिनुभयो । 
विगतमा देशमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूमा प्रवासी नेपालीले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले त्यस ऐक्यबद्धता, समर्थन र सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले निर्धारित कार्यसूचिमा जीवन्त र उपयोगी हिसावले छलफल गरी आवश्यक निर्णय लिन बैठक सफल हुन सकोस् भनी शुभकामना दिनुभयो ।

देश निर्माणको परिवर्तित कार्यदिशामा प्रवासी नेपालीबाट महत्वपूर्ण योगदानको अपेक्षा  
बैठकमा महासचिव शंकर पोखरेलले मुलुकको वर्तमान परिवर्तित राजनीतिक परिस्थिति, पार्टी सम्मिलित वर्तमान सत्ता समीकरणपछि मुलुकको विग्रँदो अवस्थामा आएको सुधार, पार्टीको अबको कार्यभार लगायत विषयमा जानकारी गराउँदै प्रवासी नेपालीहरूको भूमिकाका बारेमा  पार्टीका धारणा राख्नुभएको थियो । 
महासचिव पोखरेलले आगामी २०८४ मा हुने निर्वाचनमा नेकपा (एमाले)लाई एकल बहुमतको सरकार बनाउने गरी निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको र सोही लक्ष्य सफल पार्न वर्तमान सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म पुर्याउने योजना रहेको जानकारी गराउनुभयो । 
प्रवासमा रहेका नेपालीहरूको विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै महासचिव पोखरेलले अब आर्थिक क्रान्तिमार्फत् देश निर्माण गर्ने पार्टीको परिवर्तित कार्यदिशामा पनि प्रवासी नेपालीहरूबाट महत्वपूर्ण योगदान हुने अपेक्षा सुनाउनुभयोे । 
उहाँले प्रवासी नेपाली संघ, भारतले भारतमा व्यापार, व्यवसाय, रोजगारी, अध्ययन लगायत विभिन्न क्षेत्रमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई संगठित गरी सञ्जाल निर्माण गर्नुपर्ने र उनीहरूको सुरक्षा र संरक्षणमा अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । 
महासचिव पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतामाथि विजय हासिल गर्नुपर्ने हुँदा त्यो काम वैचारिक प्रशिक्षणबाट मात्र सम्भव हुने बताउँदै प्रवासी नेपाली संघलाई  वैचारिक काम महत्वका साथ अगाडि बढाउन आग्रह गर्नुभयो । 
रोजगारी तथा अध्ययनका सिलसिलामा प्रवासमा रहेका नेपालीहरूमा आफूले प्राप्त गरेको अनुभव, सिकेको सीप, ज्ञान, नयाँ प्रविधि र आर्जन गरेको पुँजी राष्ट्र निर्माणमा लगानी गर्ने सोचको विकास हुनुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसो हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अठोट पूरा गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने छ भन्नुभयो । 
उहाँले अध्ययनका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्कन उत्प्रेरित गर्ने कुरामा प्रवासी नेपाली संघले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
महासचिव पोखरेलले राजनीतिक क्रान्ति सफल भए पनि युग बदल्न बाँकी रहेको र त्यसका लागि एमालेसँगमात्र स्पष्ट, व्यवस्थित सोच, दृष्टिकोण रहेको भन्दै कार्यान्वयनका लागि राज्यसत्ताको नेतृत्व गर्नु अनिवार्य भएकाले स्वदेश र विदेशमा रहेका सबै नेपालीको साथसहयोग जुटाउने काममा क्रियाशील रहन आग्रह गर्नुभयो । 
प्रवासी नेपाली संघ, भारत, केन्द्रीय कमिटीका अध्यक्ष नारायण होमागाईंको अध्यक्षतामा भएको बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेले बैठकका छलफलका विषयवस्तु लगायत विषयमा बोल्नुभएको थियो ।