detail-img

उपमहासचिव रिमाल नेतृत्वको उच्चस्तरीय भ्रमण टोली चीन प्रस्थान गर्दै 

११ असार (२०८१), काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छ । 
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा हुन लागेको यो भ्रमण दश दिनको हुने छ । 
उच्चस्तरीय टोली चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वसँग दुई पार्टीबीचको सम्बन्ध र नेपाल–चीन सम्बन्धका विषयमा छलफल हुने कार्यक्रम रहेको पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले बताउनुभयो । 
भ्रमण टोलीले हवेइ प्रान्तको स्मार्ट सिटीका रूपमा निर्माण गरिएको सियाङ्गाआ शहरको अवलोकन गर्ने छ । यो शहर चीनका राष्ट्रपति सी चिनफिङको सोच (ड्रिम प्रोजेक्टका रूपमा) अनुसार निर्माण गरिएको शहर हो । यो शहर २१औं शताब्दीको प्रविधि, नलेज र मानव स्वभाव, शैली झल्कने अत्याधुनिक शहर हो । 
यसैगरी भ्रमण टोलीले युनान प्रान्तका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
भ्रमण टोलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चीनमा रहँदा पार्टीका नेताकार्यकर्ताको हिसावले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा निर्देशन दिनुभएको छ । 
अध्यक्ष ओलीले नेपाल–चीनबीच विवादरहित, मित्रतामात्रको मिठासपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै भ्रमण टोली चीनमा रहँदा पार्टीको विदेश नीति, चीनप्रतिको धारणाका साथै समग्र विदेश नीतिका बारेमा स्पष्ट दृष्टिकोण राख्नुपर्ने बताउनुभयो । 
नेपाल एक चीन नीतिमा दृढ रहेको ध्यानाकर्षण गराउँदै अध्यक्ष ओलीले चीनमा रहँदा पार्टीको नेताकार्यकर्ताको हिसावले निर्वाह गर्नुपर्ने वरव्यवहार र अनुशासनमा विशेष ध्यान पुर्याउन निर्देशन दिनुभयो ।
भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, मधेश प्रदेश कमिटी अध्यक्ष चन्द्रेश्वर मण्डल, केन्द्रीय सदस्यहरू इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर थापा, प्रेमप्रसाद दङ्गाल, नगिन्द्र शाही, पेम्वा लामा,  बदमी कवारी बोहोरा, प्रेमबहादुर तामाङ, कार्यालय सचिव भिष्मनाथ अधिकारी हुनुहुन्छ । 
त्यसैगरी, भ्रमण टोलीमा कृष्णभक्त पोखरेल, महेश बस्नेत, सरस्वती सुब्बा, शान्ति चौधरी, विदुरकुमार लिङ्थेप, इन्द्रप्रसाद भण्डारी, आरती भण्डारी, बालसिं काउछा, श्रीप्रसाद श्रेष्ठ, यज्ञराज ढुङ्गाना(उपाध्याय), गोविन्दकुमार पुन, अमी तामाङ, किरण माली, घनश्याम सुवेदी, एलडि शर्मा र मनोज ताम्ली हुनुहुन्छ । उच्चस्तरीय भ्रमण टोलीलाई महासचिव शंकर पोखरेलले भ्रमण सफलताको शुभकामना दिनुहुँदै पार्टी कार्यालयबाट विदाई गर्नुभयो । भ्रमण टोलीलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले त्रिभुवन विमानस्थलबाट विदाई गर्नुभयो ।