detail-img

जबजले पार्टी निर्माणको स्पष्ट दृष्टिकोण दिएको छः महासचिव पोखरेल 

१४ असार (२०८१), विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी निर्माणको काम जुन हिसाबले हुनुपर्ने हो, त्यो हिसाबले हुनु नसकिरहेकाले अवस्था अनुसार पार्टीको सङ्गठनात्मक ढाँचा फेरिनुपर्ने बताउनुभएको छ । 
मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्वारा बिहीबार उर्लावारीमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको योगदान र आजको सन्दर्भमा ‘जनताको बहुदलीय जनवाद’को सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्दै  महासचिव पोखरेलले महासचिव पोखरेलले जनताको बहुदलीय जनवादले पार्टी निर्माणको सन्दर्भमा जुन दृष्टिकोण राखेको छ त्यस अनुसार काम हुन नसकेको बताउनुभयो । 
उहाँले पार्टी निर्माणको सन्दर्भको बारेमा जनताको बहुदलीय जनवादले स्पष्ट दृष्टिकोण दिएको बताउनुभयो ।
जनतामा आधारित कार्यकर्ता पार्टी बनाउने दृष्टिकोण जनताको बहुदलीय जनवादले अघि सारेको र त्यसकै आधारमा एमाले जनतामा आधारित कार्यकर्ता पार्टीका रूपमा रहेको  उहाँले स्पष्ट पार्नुभयो । जनताको बहुदलीय जनवादको पार्टी बनाउने दृष्टिकोणलाई अध्यक्ष केपी शर्मा ओलीले अवलम्बन गर्नुभएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– आज हाम्रो पार्टीको सङ्गठनात्मक प्रणालीको प्रणेता केपी ओली नै हो । 
एमालेले २०५१ सालमा प्राप्त गरेको सफलता मदन भण्डारीको बलिदानको कारण भएको उहाँले स्पष्ट पार्नुभयो । रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको घटनाबाट उद्वेलित भएका नेपाली जनताले उहाँको पार्टी एमालेलाई मत दिएको महासचिव पोखरेलले  बताउनुभयो । २०५४ सालको निर्वाचनको सफलता २०५१ सालको मनमोहन अधिकारी सरकारले गरेको कामको कारण भएको उहाँको भनाइ छ । यसको जस माधव नेपालले लिन खोज्नुको कुनै अर्थ नरहेको महासचिव पोखरेलले बताउनुभयो ।
पछिल्लो समय पार्टीमा समर्पण भाव हराउँदै गएको उहाँले बताउनुभयो । राजनीतिक क्रान्तिपछि पनि असाधारण कार्यभार बाँकी रहने कुरा जनताको बहुदलीय जनवादले स्पष्ट रूपमा बताएको उहाँले उल्लेख गर्नुभयो ।  परिवर्तनपछि सबै काम सकियो, अब सम्मान र अवसर खोज्ने समय भयो भन्ने भ्रम नेता, कार्यकर्तामा हुँदा पार्टीको काम कमजोर बनेको महासचिव पोखरेलको धारणा छ । यसले समाजवादको बाटो रोक्ने उहाँले स्पष्ट पार्नुभयो ।