detail-img

जननेता मदनको ७३औं जन्मजयन्तीः उपत्यका विशेष प्रदेशद्वारा वृक्षरोपण 

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७३औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरिएको छ । 
नेकपा (एमाले), यसका जनसङ्गठन, मदन भण्डारी फाउण्डेशन लगायतले जननेता भण्डारीको स्मरण र सम्मानमा विचार गोष्ठी, वृक्षरोपण, रक्तदान लगायतका कार्यक्रमहरू आयोजना गरेको छन् । 
यसै सिलसिलामा नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले विहान चन्द्रागिरी नगरपालिका वडा नं.६ मा रहेको मदन भण्डारी फुटबल मैदान क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ का सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षरोपण कार्यक्रममा एभोकार्डो, अम्वा लगायत फलफूल र धुपी, मसला लगायतका करिव ३०० विरुवा रोपियो । 
वृक्षरोपण कार्यक्रमको आरम्भ अघि जननेता भण्डारीप्रति शब्दद्वारा सम्मान प्रकट गर्न आयोजित सङ्क्षिप्त कार्यक्रममा स्थायी कमिटी सदस्य श्रेष्ठले वर्तमान परिवर्तनको आधार तयार गर्ने मूल मियो मदन भण्डारी भएको बताउनुभयो । 
सांसद श्रेष्ठले तत्कालीन महासचिव भण्डारी रहनुभएको भए देशले राजनीतिक परिवर्तन मात्र नभई सामाजिक परिवर्तनमा पनि अहिले छलाङ मारिसकेको हुन्थ्यो भन्नुहुँदै उहाँका अधुरा सपना र अपुरा काम पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ भन्नुभयो । 
नेता श्रेष्ठले समृद्ध नेपाल, सुखी नेपाली बनाउने पार्टीको गन्तव्य साकार पार्न सक्दा जननेता भण्डारीले चाहे जस्तो नेपाल बन्ने बताउनुभयो । 
उहाँले पार्टीले अगाडि सारेको ‘मिसन–२०८४’ सफल बनाउँदा देशमा राजनीतिक स्थायित्वका साथै जननेता भण्डारीको सपना साकार पार्ने दिशामा अगाडि बढ्न सकिने विचार व्यक्त गर्नुभयो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले पार्टी जननेता मदन भण्डारीले दिएको नीति र विचारका आधारमा अगाडि बढिरहेको र सफलता पनि प्राप्त गरिरहेको बताउनुभयो । 
उहाँले जननेता भण्डारीको स्मरण र सम्मानमा कार्यक्रमहरू आयोजना गर्ने पार्टी केन्द्रको निर्देशन बमोजिम वृक्षरोपण गरिएको स्पष्ट गर्दै रोपिएका विरुवाहरू स्थानीय तह, स्थानीय पार्टी कमिटीको समेत सहकार्यमा संरक्षण गरी हुर्काइने बताउनुभयो । 
कमिटीका सचिव मिलन धरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द दुलाल, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, मातहतका कमिटीका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।