detail-img

जबजले समाजवादतर्फ अगाडि बढ्न मार्गदर्शन गरिरहेको छः अध्यक्ष ओली

१४असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)ले आफूहरूलाई देश निर्माण र समाजवादतर्फ अगाडि बढ्न मार्गदर्शन गरिरहेको बताउनुभएको छ । 
जननेता मदन भण्डारीको ७३औं  जन्म जयन्तीका अवसरमा शुक्रवार मदन भण्डारी फाउण्डेशनद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
जबज कुनै ध्यान, तप, व्यायाम र ठुलो तपस्याबाट नभई लामो सङ्घर्षका अनुभवको निष्कर्षका रूपमा नेपालको परिप्रेक्ष्यमा नेपाली क्रान्तिलाई बाटो देखाउन जरूरी सिद्धान्तका रूपमा आएको अध्यक्ष ओलीले बताउनुभयो । यो देशभक्ति, देश र जनताका समस्या समाधान गर्न केन्द्रित रहेको उहाँले प्रष्ट पार्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– जनताको बहुदलीय जनवाद देशको अग्रगमनका लागि जननेता मदन भण्डारीको अगुवाइमा एमालेले प्रतिपादन गरेको हो । यसले अहिले पनि हामीलाई मार्गदर्शन गरिरहेको र प्रभावकारी रूपमा अघि बढाइरहेको छ ।  
अध्यक्ष ओलीले जबजमा देशको विकास र अर्थतन्त्रलाई सुदृढ बनाउँदै उच्चस्तरमा पुर्याउने लगायत समग्र क्षेत्र समेट्ने परिपूर्ण विचारहरू रहेको चर्चा गर्दै यो न्यायपूर्ण, समानतायुक्त र सुन्दर समाज निर्माण गर्ने विचारहरूको समष्टि हो भन्नुभयो । 
नेपालमा २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका र नेकपा (एमाले) सबै नेपालीलाई गरिबीबाट माथि उठाएर जनतालाई मानिसको जैविक र मानवीय आवश्यकता पूर्ति गरी सुरक्षा र सम्मानित जीवन जीउन पाउने स्थितिमा पुर्याउन चाहेको बताउँदै जबजले पनि त्यही भनेको स्पष्ट गर्नुभयो । 
नेपालमा हरेक नेपाली सुखी हुनुपर्छ भनेर वहस चलाउने पार्टी एमाले मात्र भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिष्टले गरिबी बाड्छन्, समृद्धि ल्याउन सक्दैनन् भन्नेहरूलाई चीनले गरिबी निवारण गरेको हेर्न आग्रह गर्नुभयो । 
जबज स्वार्थी र मौकापरस्तको माध्यम नभएको भन्दै आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त सबै हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाल दुई ठुला छिमेकीको बीचमा रहेको हुँदा यो यथार्थतालाई विचार गरी हामीले न्यायोचित कुरा गर्न ध्यान दिनुपर्छ भन्नुभयो । ठुला छिमेकीलाई बजारका रूपमा सदुपयोग गर्नुपर्ने तथा उनीहरूसँग राष्ट्रिय हितको पक्षमा खुलस्त धारणा राख्न सक्नुपर्ने भन्दै अहिले भूराजनीति र भौगोलिक अवस्थिति शब्द उच्चारण गर्नेहरूले देशको राष्ट्रिय हित छोड्न र छोड्दै जान यो शब्दको प्रयोग गर्ने गरेको भनाइ उहाँले राख्नुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारी फाउण्डेशनले हरेक बर्ष प्रदान गर्दै आएको रु. एकलाख राशिको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पाँचथरस्थित कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्नुभयो । फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओलीले ‘दिशाबोध’ र ‘स्टेट सोसाइटी एण्ड डेभलपमेण्ट’ जर्नल लोकार्पण गर्नुभएको थियो ।कार्यक्रममा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थितिका साथै ठुलो सङ्ख्यामा जनसहभागिता रहेको थियो ।