detail-img

प्रविधिको विकासले सुख दिनसक्छ तर मानिस बाँच्नका लागि अन्न नै चाहिन्छः महासचिव पोखरेल 

१६ असार (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजले प्रविधिमा जति विकास गरे पनि मानिसलाई खानको लागि अन्न नै चाहिने बताउनुभएको छ ।  
२१औं राष्ट्रिय धान दिवसका अवसरमा शनिबार अखिल नेपाल किसान महासंघ, काठमाडौं र कागेश्वरी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा महासचिव पोखरेलले भौतिक हिसाबले शिखर नै चुमे पनि मान्छेले बाँच्नको लागि अन्न खानैपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– अरू प्रकारका समृद्धिले मानिसलाई सुख दिन सक्दछ, जीवन दिन सक्दैन । 
उहाँले किसानले श्रम नगर्ने हो भने मानव जीवन सम्भव नभएको बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– किसान मानव जीवनका भाग्य विधाता हुन् तर पनि किसानलाई समाजले जुन प्रकारले सम्मान दिनु पर्दथ्यो, त्यो सम्मान स्थापित हुन सकेको छैन । 
मानव जीवनको लागि खाद्यान्न उत्पादन गर्ने किसान स्तुत्य रहेको उहाँले बताउनुभयो । 
जनसङ्ख्याको ठुलो हिस्सा अहिले पनि कृषिमा जोडिएको भए पनि नेपालमा अहिले पनि कृषिले जीवन धान्नको लागि आम्दानी दिन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । कृषि अहिले पनि निर्वाहमुखी उत्पादन प्रणालीमा नै रहेको महासचिव पोखरेलले बताउनुभयो । 
समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पुरा गर्न कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाहमुखी उत्पादन प्रणालीलाई व्यावसायिक र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा ध्यान दिन नसक्दा समाज अघि बढ्न नसकेको महासचिव पोखरेलले बताउनुभयो । 
पुरानो पुस्ताले राजनीतिक परिवर्तनको लागि जीवन बलिदान गरेको भन्दै उहाँले राजनीतिक परिवर्तनले मात्र देश नबन्ने बताउनुभयो । समाज विकासको लागि अब आर्थिक, सामाजिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने धारणा महासचिव पोखरेलले राख्नुभयो । 
एमालेका नेता कार्यकर्ता उत्पादन, विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताले समाजलाई समृद्धिको पथमा डोर्याउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । 
राष्ट्रको विकासको लागि बचत आवश्यक भएको भन्दै उहाँले बचतले नै राष्ट्रिय पुँजीलाई विकसित गर्ने बताउनुभयो । ‘देश बनाउनका लागि सानै कामबाट यात्रा आरम्भ गर्नुपर्दछ, त्यो यात्रा बचतबाटै शुरू गर्नुपर्दछ, हरेक नागरिकले आफ्नो कमाइको एउटा हिस्सा बचत गर्ने संस्कृतिबाट नै देश निर्माणको यात्रा शुरू हुन्छ’, उहाँले भन्नुभयो । 
आज जागिर खोज्ने नाममा युवाहरू विदेश पलायन भइरहेका तर नेपालका थकाली लगायतका केही समुदाय कहिल्यै पनि जागिरको खोजीमा नहिँडेको दृष्टान्त महासचिव पोखरेलले सुनाउनुभयो । 
व्यापार, व्यवसाय नगरी देशमा रोजगारी सिर्जना नहुने उहाँले बताउनुभयो । जब नागरिक व्यापार व्यवसायमा लाग्छन् तब मात्र देशमा रोजगारीको अवसर सिर्जना हुने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । यो आवश्यकता पुरा गर्न नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो ।