detail-img

कृषि क्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिन्छः अध्यक्ष ओली

१६असार,(२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई खान, लाउन पाउने अवस्थामा पुर्याउनु रहेको बताउनुभएको छ । 
नेकपा (एमाले), कृषि तथा पशुपन्छी विकास विभागद्वारा आज यहाँ आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रूपान्तरण’ विषयक नीति सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 
कुल जनसङ्ख्याको ६० प्रतिशत जनता कृषिमा आधारित रहेको हाम्रो देशमा २०.२६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि हुनु र खान नपाउनु असङ्गत कुरा हो भन्नुहुँदै अध्यक्ष ओलीले भोकमरिमा रहेका जनतालाई कमसेकम मोटो चामल ख्वाउन सक्नुपर्ने बताउनुभयो । 
जनता देशका लागि शक्ति भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भोको जनता खानाका लागि तड्पने स्थिति हुन्छ भने त्यस्तो जनता कसरी शक्ति होला ? भन्नुभयो । 
‘हिजोका दिनमा एउटा परिवारलाई उत्पादनको इकाई मान्दा नून बाहेकका चिजमा परिवार आत्मनिर्भर थियो, परिवारसँगै देश आत्मनिर्भर थियो’, चर्चा गर्दै अध्यक्ष ओलीले अब भने परिवारलाई उत्पादनको इकाई मानेर होइन, सहकारी वा सामूहिक कृषिको अवधारणा अङ्गालेर ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सामुहिक कृषिको अवधारणाबाट अगाडि बढ्दा हामीले कृषि क्षेत्रमा पाँचबर्षमा असाधारण परिवर्तन ल्याउनसक्छौं । 
उहाँले अहिलेको आवश्यकता उद्यमशिलता र व्यावसायिकता भएको भन्नुहुँदै उद्यमशिलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो ।
अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्था नरहेको र यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले आफूले प्रधानमन्त्रीलाई सानातिना नियुक्तिमा अल्झने भन्दा पनि सुधार र परिवर्तनका लागि नीति निर्माणमा लाग्न सुझाएको जानकारी गराउनुभयो । 
उहाँले कृषि क्षेत्रमा परिवर्तन ल्याउन पर्खने समय छैन भन्दै आजै, यसै हप्ता, यसै महिनाको हिसावले अर्जेन्सीका आधारमा काम अगाडि बढाउनुपर्ने कुरामा कृषि मन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले नीति सम्वादबाट कृषि क्षेत्रका समस्या समाधानसहित नीतिगत सुधारका निष्कर्षहरू निस्कने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्नुभएका दुईजना कृषि उद्यमी चितवनका गणेश भुसाल र कपिलवस्तुका थानेश्वर न्यौपानेलाई सम्मान गर्नुभएको थियो । 
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्याला कुमारी साह र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि क्षेत्रको हालको अवस्था, विकास, आधुनिकीकरण र समृद्धिका लागि कृषि क्षेत्रको भूमिका विषयमा मन्तव्य राख्नुभएको थियो । 
नेकपा (एमाले)का केन्द्रीय सदस्य, कृषि तथा पशुपन्छी विभाग प्रमुख गिरधारीलाल न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै नीति सम्वादका बारेमा प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा डा.ईश्वरी प्रसाद कडरियाले कार्यपत्र प्रस्तुत गर्दै समृद्धिका लागि कृषि भन्ने हो भने निर्वाहमुखी कृषिको अवस्थाबाट कृषिको रूपान्तरण जरूरी रहेको धारणा राख्नुभयो । 
कार्यपत्रमाथि डा. यमुना घले र प्रा.डा. शिव अधिकारीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा कृषि वैज्ञानिक तथा कृषि विज्ञहरूको सहभागिता रहेको थियो ।