detail-img

  केन्द्रीय लेखा आयोगः १११ वटा कमिटीको लेखापरीक्षण

आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक कार्ययोजना पारित
आयोगका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानका आधारमा सामुहिक दुर्घटना बीमा गर्ने निर्णय 
१७ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगले आर्थिक वर्ष २०८०/०८१ मा आयोगको दायरा अन्तर्गतका १११ वटा कमिटीको लेखापरीक्षण सम्पन्न गरेको छ । 
आयोगका अध्यक्ष डाक्टर पुष्प कंडेलको अध्यक्षतामा यही असार १३ र १४ गते भक्तपुरको नगरकोटमा सम्पन्न आयोगको एघारौं पूर्ण बैठकमा बार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै अब ४६ वटा कमिटीको मात्र लेखापरीक्षण बाँकी रहेको जनाइएको छ । 
आयोगको लेखापरीक्षण दायरामा पार्टीको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, उपमहानगर कमिटी र  जनसङ्गठनहरू गरी १५७ कमिटी रहेका छन् । 
हालसम्म पार्टी केन्द्रीय कमिटी, ९ वटै प्रदेश तहका कमिटी, ८० जिल्ला तहका कमिटी, ३ महानगर कमिटी र २ उपमहानगर कमिटी तथा १६ वटा जनसङ्गठन गरी लेखा आयोगको दायराअन्तर्गतका १११ कमिटीहरूको लेखापरीक्षण सम्पन्न भएको र बैठकले वार्षिक कार्ययोजनाको समीक्षा गर्दै अधिकांश कार्ययोजना कार्यान्वयन भएको निष्कर्ष निकालेको छ ।  
बैठकले लेखा परीक्षण बाँकी रहेका कमिटीहरूको लेखापरीक्षण यही २०८१ असार मसान्तसम्म पनि नगर्ने/नगराउने कमिटी र सम्बन्धित कमिटीका अध्यक्षहरूको विवरण पार्टी केन्द्रीय सचिवालय, सङ्गठन विभाग र अनुशासन आयोगलाई उपलब्ध गराउने निर्णय गरेको छ । 
बैठकले आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक कार्ययोजना पारित गर्दै २०८१ कात्तिक मसान्तभित्रमा सबै पार्टी कमिटी र जनसङ्गठनको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गर्ने, पार्टी कमिटी र जनसङ्गठनहरूलाई लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक कामको अनुगमन गर्ने, लेखा राष्ट्रिय समीक्षा भेला आयोजना गर्ने, पार्टी नेतृत्वसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने, आर्थिक कामका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने, नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन पार्टी केन्द्रलाई अनुरोध गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ । 
यसका साथै, बैठकले व्यक्तिगत योगदानका आधारमा आयोगका सबै पदाधिकारी र सदस्यहरूको रु. सात लाख पचासहजार बराबरको सामुहिक दुर्घटना बीमा गराउने समेत निर्णय गरेको छ । आयोगले लेखापरीक्षणको काम स्थलगत रूपमा सम्पन्न गर्ने र आयोगका पदाधिकारी तथा सदस्यहरू कार्यसम्पादनका लागि विभिन्न प्रदेश तथा जिल्ला यात्रामा जानुपर्ने परिस्थितिलाई ध्यानमा राखेर सामुहिक दुर्घटना बीमा गर्ने निर्णय गरिएको हो ।   
बैठकको समापन गर्दै आयोगका अध्यक्ष डाक्टर कंडेलले निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई आ–आफ्नो परिभाषित काममा खटिन निर्देशन दिनुभएको आयोगका सचिव शिव अधिकारीले बताउनुभयो ।