detail-img

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

३० असार (२०८१), काठमार्डौं । नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । 
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण भोलि सोमबार हुने भएको छ । 
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत् राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी गराउनुभएको हो । 
२०७९ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका अध्यक्ष ओलीको प्रधानमन्त्रीका रूपमा यो चौथो कार्यकाल हो ।

प्रधानमन्त्री नियुक्तिपछि अध्यक्ष ओलीले सबैमा सम्मान र धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सम्मान व्यत्त, गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभएको छ–सबैमा सम्मान । सबैलाई धन्यवाद !!
उहाँ यस अघि संविधान सभाबाट संविधान जारी भएपछि २०७२ साल असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो भने दोस्रोपटक २०७४ सालको आम निर्वाचनपछि २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अध्यक्ष ओली २०७८ साल बैशाख ३० गते प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताका हैसियतमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । 
विक्रम सम्वत् २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको आठराई, इवामा जन्मनुभएका नवनियुक्त प्रधानमन्त्री ओली बाल्यकालमै अर्थात् २०२० सालमा झापा बसाइँसराइँ भएकाले उहाँको राजनीतिक जीवन झापाबाटै शुरू भएको थियो । उहाँ २०४८ सालदेखि झापाबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ ।  
यही असार २८ गते शुक्रबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएको र सोही दिन नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरूको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्दै दावी पेश गरिएको थियो । 
नेकपा (एमाले) र नेपाली कांग्रेस केहीदिन अघि (असार १७ गते) देशका विद्यमान आर्थिक सङ्कट लगायत तमाम समस्या समाधान गर्दै जनताको निराशालाई आशामा परिणत गर्न अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिमा पुगेका हुन् ।