detail-img

सरकारले जनताका हितमा देखिने गरी काम गर्ने छः प्रधानमन्त्री

१ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देश र जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकारका लागि देशको अवस्था परिवर्तन मुख्य कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा उहाँलाई बधाई दिन नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनपछि नेपाली जनतामा आशा र विश्वास जागेको बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ तर यस परिवर्तनले देशमा नयाँ आशा, भरोसा जगाएको छ ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणका काम र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । 
उहाँले यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू समेत रहेकाले काम गर्दा आउने अप्ठ्यारासँग जुध्न त्यस अनुभवले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू मसँग छन्, आज त्यस्तो स्थिति छैन, त्यस प्रकारको घेराबन्दीको स्थिति छैन । कोभिडसँग तुलना गर्नेखालको कुनै विपत्ति पनि छैन ।
अहिले एकैचोटीको मनसुनको चापका कारण जनधनको क्षति भएको, बाढी पहिरो जाने, सडक पुलहरू भत्किने भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको प्रष्ट पार्नुभयो । आगामी दिनमा यस्ता प्राकृतिक विपत कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिइने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनस्र्थापनाका काम गर्ने भन्ने विषयमा तयारी भइरहेको जानकारी गराउनुभयो । 
एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने प्रधानमन्त्रीले बताउनुभयो । 
उहाँले कीर्तिपुर क्रिकेट रङ्गशालालाई तीनसय दिनभित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरी स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको बताउनुभयो ।
सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा सरकारले देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । नागरिकको आत्मीयता र माया मर्न नदिने उहाँले बताउनुभयो ।