detail-img

देशको भविष्य उज्ज्वल छः प्रधानमन्त्री ओली

३ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको बताउनुभएको छ । 
६२औं इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसा गर्न लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नरहेको बताउनुभयो । 
उहाँले आफ्नो नेतृत्वको वर्तमान सरकार देशमा देखिएका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नैपर्छ ।
अहिलेको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्ज्वल रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसमा कुनै शङ्का नगरी देश निर्माणको काममा लाग्न आग्रह गर्नुभयो ।
उहाँले इञ्जिनियरहरू देश बनाउने हात भएकाले देश निर्माणको काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अतिथिका रूपमा उपस्थिति हुनुहुन्थ्यो ।