detail-img

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीद्वारा बधाई

३ असार,(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

सन्देशमा द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्याउन र दुबै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबीचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुबै देशका जनताका लागि लाभदायक हुने विश्वास मोदीले व्यक्त गर्नुभएको छ । भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपाल विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख गर्दै सन्देशमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर साझेदार हुन प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

उहाँले पारस्परिक लाभको साझेदारीलाई मजबुत पार्दै र नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषण गर्दै अगाडि बढ्ने तत्परता व्यक्त गर्नुभएको छ ।

‘पुरातन सभ्यता, सांस्कृतिक सम्बन्धका साथै खुला सिमानाले सिर्जना गरेको दुई देशका जनताबीचको बलियो सम्बन्ध भारत–नेपाल सम्बन्धका विशेषताका रूपमा रहेको र यसखालको सम्बन्धले दुई देशबीचको साझेदारीलाई ऊर्जा, जोश र बल प्रदान गरिरहेको चर्चा गर्दै सन्देशमा पछिल्ला वर्षहरूमा द्विपक्षीय सहकार्यले सम्पर्क, ऊर्जा, विकासात्मक साझेदारी र जनताबीचको आदान–प्रदानका क्षेत्रमा प्रगति देखाएको उल्लेख गरिएको छ ।

दुई देशबीचको यो यात्रामा प्रधानमन्त्री ओलीको योगदानलाई भारतले सधैं महत्व दिएको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा जनाउनुभएको छ । प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र कल्याणको कामना गर्दै उहाँले नेपाली जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको ४५औं प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकै दिन पनि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको थियो ।