detail-img

उपमहासचिव रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

आर्थिक सल्लाहकारमा डा.खतिवडा, प्रमुख स्वकीय सचिवमा बज्राचार्य
४ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल नियुक्त हुनुभएको छ । 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । 
उपमहासचिव रिमाल यसअघिको कार्यकालमा पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।  
त्यसैगरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त हुनुभएको छ । आर्थिक सल्लाहकार खतिवडा २०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री बन्नुभएको थियो । यस्तै, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त हुनुभएको छ ।


यसैबीच उपमहासचिव रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुनुभएकोमा पार्टी महासचिव शंकर पोखरेल लगायत नेताहरूले बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित सङ्क्षिप्त कार्यक्रममा महासचिव पोखरेलले बधाई दिनुभएको हो ।