detail-img

वर्तमान सरकार राजनीतिक स्थायित्वका लागिः बरिष्ठ उपाध्यक्ष पोखरेल

५ साउन, (२०८१), कतार । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वको लागि एमाले र नेपाली कांग्रेसको समझदारीमा नयाँ सरकार बनेको बताउनुभएको छ । 
कतारको दोहामा शुक्रबार आयोजित प्रवासी नेपाली मञ्च,कतारको सातौं अधिवेशनलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको बताउनुभयो । 
राजनीतिक अस्थ्रिताका कारण २० सिटेहरू प्रधानमन्त्री बन्ने अवस्था आएकाले त्यसखालको अस्थिरता अन्त्यका लागि पनि दुई ठुला दल नयाँ समीकरणका लागि सहमत भएको उहाँले स्पष्ट गर्नुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन प्रधानमन्त्री प्रचण्डको बेइमानी र चुलबुलका कारण उहाँको नेतृत्वको सरकार ढलेको बताउँदै आगामी निर्वाचनमा समेत माओवादीसँग गठबन्धन नहुने भनाइ राख्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– प्रचण्डको बेइमानीले सीमा नाघ्यो । जतिखेर पनि ढाँटछल गर्ने, कांग्रेस देखाएर एमाले र एमाले देखाएर कांग्रेससँग खेल्ने अनि राज्यको स्रोत साधन आफ्नो परिवारको अनुकूल खर्च गर्ने जस्तो हर्कत भयो । प्रचण्डकै बेइमानीले सरकार ढल्यो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले मुलुकमा सुधारका काम अघि बढाइसकेको भन्दै अव निरासा चिरेर जनतामा आशा जगाउने बताउनुभयो । 
उहाँले कतारबाट नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिएर मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य उमाशंकर अरगरियाले देशलाई समृद्ध बनाउन सरकारमा एमालेको आवश्यक रहेको बताउनुभयो । उहाँले अब नेपालमा साना पार्टीको काम नरहेकोसमेत बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले नेपाली श्रम र सीपलाई नेपालमै राख्न वर्तमान सरकारले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि बिश्वभर छरिएर रहेका प्रवासी नेपालीमा आशाको सञ्चार भएको भन्दै बिगतदेखि उठाउँदै आएको माग सम्बोधनका लागि उपयुक्त समय रहेको बताउनु भयो ।
प्रवासी नेपाली मञ्च कतारका संयोजक अफ्सर खानको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी उपसचिव चानक पोखरेल, मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागार्इं, मध्यपूर्व संयोजक प्रकाश कोइराला लगायतका वक्ताहरूले आफ्नो धारणा राख्नुभएको थियो ।