detail-img

संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान

७ साउन,(२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । 
आज संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धा व्यक्त गर्नुभएको  हो । 
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको उल्लेख गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ पुष्पलालले कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व गर्नुका साथै कम्युनिष्ट घोषणापत्र नेपालीका अनुवाद गर्नुभएको स्मरण गर्नुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले फेसबुक पेजमा लेख्नुभएको छ–
अग्रजलाई सम्मान 
आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवस । 
उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो ।  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो । मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !

यसैगरी, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाका संस्थापक पुष्पलाललाई सिद्धान्त, संगठन र सङ्घर्षमा निरन्तर जोड दिनु हुने, संयुक्त जनआन्दोनका प्रणेताका रूपमा स्मरण गर्दै उहाँको जीवन सङ्घर्षबाट सदैव प्रेरणा लिनुपर्ने धारणा राख्नुभएको छ । 
महासचिव पोखरेलले आफ्नो फेसबुकमार्फत् उक्त विचार सम्प्रेषण गर्दै नेकपाका संस्थापक पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।