detail-img

स्थायित्व र सुशासन कायम गर्न सक्दा समृद्ध नेपाल हाम्रै पालामाः उपाध्यक्ष शाक्य

संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवस

७ साउन, (२०८१),रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवस गृहजिल्ला रामेछापमा उहाँको प्रतिमामा माल्यार्पण र श्रद्धा प्रकट गरी मनाइएको छ । 
नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत नेताहरूले विहान मन्थलीमा निर्माण गरिएको तीनलाल पार्कमा संस्थापक महासचिव पुष्पलालसहित तीनलाल (गंगालाल, पुष्पलाल, कृष्णलाल)को प्रतिमामा माल्यार्पण गर्नुभयो । 
उक्त कार्यक्रममा उपाध्यक्ष शाक्यले देशमा राजनीतिक परिवर्तनको काम एक्लैले सम्भव नहुने निष्कर्षका साथ नेकपाका संस्थापक महासचिव पुष्पलालले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नुपर्छ भन्ने विचार अगाडि सार्नुभएको स्मरण गर्नुभयो । 
निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यका लागि नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलनबाट सम्भव भएकाले यसबाट पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो भन्ने पुष्टी गरेको बताउनुभयो । 
उपाध्यक्ष शाक्यले भन्नुभयो– संस्थापक महासचिव पुष्पलालले भविष्यको समेत प्रष्ट दृष्टिकोण राख्ने गरेको र पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ भन्ने  उहाँको मूल धारणा रहेको थियो ।  
पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकाले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको उपाध्यक्ष शाक्यले बताउनुभयो । 
उहाँले भन्नुभयो– देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा अगाडि बढाउन सकियो भने हाम्रै कालमा नेपाललाई समृद्ध मुलुक बनाउन सकिन्छ । 
अहिलेको सरकारलाई सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उहाँको धारणा छ । 
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले देशका दुई ठुला पार्टी एमाले र कांग्रेस मिलेर सरकार बनाएकाले अब अलमलिन जरूरी नरहेको बताउनुभयो । एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्ने भन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो, त्यसैगरी सबै लाग्ने हो भने देशले चाँडै मुहार फेर्ने उहाँको विश्वास छ । उपाध्यक्ष शाक्यले भन्नुभयो– नेपाललाई समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौं, त्यो काम गर्ने बेला आएको छ । 
पुष्पलालको स्मृति दिवस मनाउँदा माला मात्र लगाएर नहुने बताउँदै उहाँले  पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौं भन्ने कुरा प्रमुख भएको बताउनुभयो ।  
नेकपा (एमाले) मन्थली नगर कमिटीद्वारा आयोजि कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका पदाधिकारी तथा सदस्य, जनसङ्गठनका नेताहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।