detail-img

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त 

७ साउन, (२०८१), बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । 
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 
उहाँले आफ्नो दल नेकपा (एमाले) र नेपाली कांग्रेसका ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । लुम्बिनी प्रदेशमा एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरू हुनुहुन्छ । नवनियुक्त मुख्यमन्त्री आचार्य अर्घाखाँचीको प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित सभासद् हुनुहुन्छ ।  
मुख्यमन्त्री आचार्यको पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार हुनेभएको छ । 
कानूनमा स्नातक उत्तीर्ण आचार्यले यसअघि लुम्बिनी प्रदेश सरकारमा पटक पटक गरी आन्तरिक मामिला तथा कानून मन्त्री, खानेपानी तथा सहरी विकास मन्त्री र आर्थिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अँधेरीमा २०२५ साल जेठ २१ गते जन्मिनुभएका आचार्य नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी सचिव, लुम्बिनी अञ्चल कमिटी सदस्य, अर्घाखाँची जिल्ला अध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुनुहुन्छ ।