detail-img

बुद्ध दर्शनलाई कमजोर हुन दिइन्नँः प्रधानमन्त्री ओली 

९ साउन, (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले आज डा. अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । 
नेपाल सामाजिक, धार्मिक र प्राकृतिकरूपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात गर्ने स्पष्ट गर्नुभयो ।
‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो’, चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो– बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ म नै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । 
उहाँले बुद्ध दर्शन वैज्ञानिकतामा आधारित रहेको भन्नुहुँदै बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा रहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा. शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा लेखक शाक्यले बौद्ध दर्शनका पाठकसमक्ष बौद्ध धर्म दर्शन अनुसार जीवन भनेको के हो, हामी किन जन्मन्छौं, किन मर्छौं, मानिस के हो, यो भवचक्र किन चलिरहेको छ, यी सबै प्राणि भनेका के हुन्, यो ब्रम्हाण्ड भनेको के हो ? लगायतका सवालको जवाफ पुस्तकमा समेटिएको बताउनुभयो ।