२० साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले गर्न चाहेको संविधान संशोधन अग्रमगनका लागि भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को ३४औं सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भइरहेको भन्नुहुँदै उहाँले मुलुक र जनताको आवश्यकता बमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो– लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन संविधान संशोधन गर्ने हो । संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौं । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौं ।
गुटबन्दी स्वीकार्य छैन
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले वैचारिक र साङ्गठनिकरूपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी एमाले नै भएको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष ओलीले एमालेभित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताउनुभयो ।
उहाँले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरणबाट पार्टी अघि नबढ्ने बताउनुभयो । लोकतन्त्रको नाममा पार्टीभित्र गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने बताउँर्दै अध्यक्ष ओलीले भन्नुभयो– पार्टी ओरालो लाग्नु छ भने त्यस पार्टीले गुटबन्दीको बाटो समाउँछ ।
उहाँले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गर्नुभयो । नेकपा (एमाले) विभाजित हुनुमा गुटबन्दी कारक बनेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) सबै खालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको अध्यक्ष ओलीले बताउनुभयो ।
एमालेले देशमा सुनौलो दिन ल्याएरै छाड्ने बताउँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सबैको साझा प्रयासबाट देशलाई सफल बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताउनुभयो ।
पार्टीका महासचिव शंकर पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्षमा मनोनीत गुरु बराल र केन्द्रीय कमिटी सदस्यहरूले सपथ ग्रहण गर्नुभएको थियो ।