२३ साउन(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीति गर्नेहरूले जनभावनालाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।
महासचिव पोखरेलले बुधबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै बङ्गलादेशको घटना राजनीति गर्नेहरूका लागि महत्वपूर्ण शिक्षा भएको विचार व्यक्त गर्नुभयो । विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने उहाँको धारणा छ ।
पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बङ्गलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमुना विकास भएको उल्लेख गर्दै महासचिव पोखरेलले त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनुपर्ने परिस्थिति आएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– एउटा मुद्दाले उहाँले देश छाड्नु पर्यो ।
आज बङ्गलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको उहाँले बताउनुभयो । तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
बङ्गलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समयपछि सत्ता छाड्नुपर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका महासचिव पोखरेलले सुनाउनुभयो ।
एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधैँ ख्याल राख्नुपर्ने भनाइ राख्दै महासचिव पोखरेलले यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरूलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन आग्रह गर्नुभयो ।
उहाँले नेपाल र बङ्गलादेशको अवस्था भने फरक रहेको बताउनुभयो । बङ्गलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै महासचिव पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्ति समेत बन्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रीकरण भएर दुरुपयोग भयो भन्ने कुरा हो ।
सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा सचेत हुनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । सामाजिक सञ्जाललाई सही बाटोमा डोर्याउने कुरामा जनसङ्गठनको भूमिका महत्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो ।
बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको थियो ।