detail-img

‘साना दलको सौदावाजीबाट मुलुकलाई मुक्त गर्ने एमाले–कांग्रेसको अठोट’

२३ साउन(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनादेशमा दलहरू उभिनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटी पर्यटन व्यवसाय विशेष इलाका कमिटीद्वारा बुधबार आयोजित पार्टी प्रवेश, प्रशिक्षण, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो । 
महासचिव पोखरेलले जनादेशमा उभिन नसक्ने हो भने फेरि जनताको बीचमा जानुपर्ने बताउनुभयो । जनताले कुनै पनि हालतमा विभाजन नस्वीकार्ने बताउँदै एमाले बनाउने नै म हुँ भन्ने माधव नेपाललाई गएको निर्वाचनमा जनताले देखाइदिएको उहाँले सुनाउनुभयो । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको नाममा फेरि माधव नेपाललाई बोकेर एमालेलाई एक्लाउन खोजेपछि कांग्रेस र  एमालेको समीकरण बनेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– साना दलले मुलुकलाई आफ्नो स्वार्थको लागि नचाउने परिपाटी सधैँका लागि अन्त्य गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिक स्थायित्व सुनिश्चितताका लागि आवश्यकता पर्दछ भने संविधान पनि संशोधन गर्ने, कानुन संशोधन गर्ने, साना दलको सौदाबाजीबाट मुलुकको राजनीतिलाई मुक्त गर्ने अठोटका साथ हामीले सहकार्य सुरु गरेका छांैं, यसबाट व्यावसायिक क्षेत्रमा उत्साहित वातावरण सिर्जना भएको छ, मानिसको मनोबल बढेको छ ।  
मुलुकमा हरेक क्षेत्रमा निराशा फैलाउने प्रयत्न भइरहेको र आशाले मानिसलाई अघि बढाउने र निराशाले समाप्त पार्ने  महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– निराशा भनेको पतनको कारण हो । 
महासचिव पोखरेलले कांग्रेस र एमाले साना दलले मुलुकलाई बन्धक बनाएका कारण देशलाई त्यसबाट मुक्त गर्न मिलेको बताउनुभयो । 
देशमा स्थिरता र स्थायित्व दिन, संविधान संशोधन गर्न, निराशा चिर्न र देशलाई निकास दिन एमाले–कांग्रेस मिलेका उहाँले स्पष्ट पार्नुभयो । उहाँले भविष्यको यात्राका सन्दर्भमा भने दुई पार्टी लामो यात्राका प्रतिस्पर्धी भएको पनि बताउनुभयो ।  
प्रचारवादले कुनै पनि समस्याको निकास दिन नसक्ने बताउँदै महासचिव पोखरेलले कुनै पनि समस्याको समाधान नीतिगत र वैचारिक हिसाबले खोज्नुपर्ने बताउनुभयो । त्यसो नगर्दासम्म मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान नसकिने उहाँको धारणा छ । 
उहाँले बङ्गलादेशमा भएको घटनाबाट उद्वेलित नहुन पनि आग्रह गर्नुभयो । बङ्गलादेशमा अहिले भएको घटनाले कुनै निकास दिन नसक्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
नेपालमा अहिले निराशा होइन, आशाको अवस्था रहेको उहाँले बताउनुभयो । जे चिजले अघि बढ्न सहयोग पुग्छ, त्यही चिज नेपालमा रहेकाले भविष्यप्रति आशावादी हुने प्रशस्त ठाउँ रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– मुलुकको समृद्धि आशाबाटै सुरु हुन्छ, निराशाबाट होइन, त्यस कारण हामी आशा जगाउने अभियानमा छौं । 
नेपालको पर्यटन क्षेत्रको भविष्य अति राम्रो भएको बताउँदै त्यसका लागि सबै क्षेत्रमा समानुपातिक विकास आवश्यक रहेको बताउँदै उहाँले आर्थिक, सामाजिक क्षेत्रको विकास नभई पर्यटन क्षेत्रको मात्रै विकास हुन सक्दैन भन्ने कुरा बिर्सन नहुने कुरामा जोड दिनुभयो ।