२८ साउन (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठनपछि विभिन्न क्षेत्रमा सकारात्मक सुधार देखिन थालेको बताउनुभएको छ ।
दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएयता पुँजीबजारमा उल्लेख्य सुधार आएको र प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको बताउनुभयो ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अझ पनि आर्थिक क्षेत्रमा आशातीत सुधार भइनसकेको हुँदा यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनभयो ।
उहाँले मुलुक लगातार आर्थिक सङ्कटमा गएको र दुई प्रमुख पार्टी नमिल्दासम्म आर्थिक अवस्थामा सुधार नआउने आवाज उठेपछि एमाले–कांग्रेस मिल्नुपरेको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले विकास र समृद्धिका लागि दलहरू बलियो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– धेरै दल होइन, बलिया र निर्णायक दलको आवश्यकता छ ।
सत्ता राजनीतिमा साना–साना दलहरूको बाहुल्यताका कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको उहाँले बताउनुभयो । देशमा राजनीतिक स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । लोकतन्त्रको आधारभूत जग तयार गर्न एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो ।
कुनै राजनीतिक दलको एकल बहुमतको अवस्था नरहेको र अझ संविधान संशोधन गर्नुपर्दा दुईतिहाई बहुमत आवश्यक पर्ने भएकाले प्रमुख दल नमिले त्यो आवश्यकता पुरा हुन नसक्ने महासचिव पोखरेलले बताउनुभयो । स्थायित्व प्रदान गर्ने आधारलाई केन्द्रमा राखेर दुई ठुला दलको सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।
संवैधानिक र कानुनी क्षेत्रमा देखिएका समस्या सुधारका लागि क्रमशः काम गर्दै जाने बताउँदै यसले देशको अवस्थामा थप सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
माओवादीलाई समेत समावेश गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने सोंच एमाले र कांग्रेसको भए पनि प्रचण्ड त्यसमा सहमत नभएको उहाँले बताउनुभयो । देशलाई स्थिरता दिने गरी संविधान संशोधन गर्दा माओवादी पार्टीको स्थान नहुने डर प्रचण्डलाई रहेको महासचिव पोखरेलको विश्लेषण छ ।
नेपालको वामपन्थी आन्दोलनमा अब अलग–अलग दल आवश्यकता नरहेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– ढिलो चाँडो माओवादी आन्दोलनमा रहेका साथीहरू आउने ठाउँ यही (एमाले) नै होे ।
प्रेस सेण्टर दाङका अध्यक्ष शर्मा एमालेमा
कार्यक्रममा नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो ।
उहाँलाई महासचिव पोखरेल, सचिव योगेश भट्टराई लगायतका नेताहरूले खादा लगाई स्वागत गर्नुभएको थियो ।
नवप्रवेशी पत्रकार शर्माले प्रतिस्पर्धाको राजनीतिमा नेकपा (एमाले) उत्कृष्ट पार्टी स्थापित भएको कारण आफू एमाले र त्यसको जनसङ्गठन प्रेस चौतारी नेपालमा समाहित भएको बताउनुभयो ।